×

देश माओवादीको एजेण्डामा चल्ने तर माओवादी दिनदिनै कमजोर हुनुको कारण खोज्दै युवा नेताहरु छलफलमा

images

काठमाडौ‌ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले सन्तोषजनक नतिजा ल्याउन नसकेपछि नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । हरेक निर्वाचनमा नेकपा माओवादी केन्द्र स्खलित हुँदै गए पछि माओ‌वादी केन्द्रका युवानेता सक्रिय भएका हुन ।  

पार्टी कमजोर हुँदै गएको अवस्थामा उनीहरूले यसको पुनर्गठन वा अर्को विकल्प खोज्ने भन्दै बिहीबार काठमाडौंमा भेलाको आयोजना गरे । पार्टी नेतृत्वले समस्या समाधानका लागि पहल नगर्ने हो भने अब माओवादीको भविष्य नभएको प्रारम्भिक मतका आधारमा भेला गर्नुपरेको उनीहरुले बताएका छन् । स्थानीय, प्रदेश तथा संघीय संसद्‌को चुनावमा माओवादीले अपेक्षाकृत जित निकाल्न नसकेको, पार्टी सिद्धान्त र व्यवहारमा निरन्तर क्षयीकरण हुँदै गएको कारण पनि पाार्टीले यो नियती भोग्नु परेको उनिहरुको बुझाइ छ । 

पार्टीका युवा नेता लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’ रामदीप आचार्य, डिपी ढकाल, लगायत नेताहरू छलफलमा जुटेका हुन् । पार्टीको भविष्यलाई लिएर युवा नेताहरूले  चिन्ता व्यक्त गर्दै बहस र छलफललाई अघि बढाई रहेका छन् । माओवादी पार्टीलाई भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिन थालेपछि युवा नेताहरू चिन्तित भएका छन् । अब यस्तै अवस्था भए आउने चुनावमा माओवादी सिंगल डिजिजमा पुग्न सक्ने भएकाले बेलैमा सजग हुनुपर्ने भन्दै नेताहरूले बहस र छलफल थालेका हुन् ।

अब पनि माओवादी आन्दोलनको पुनर्गठन नगर्ने हो भने निरन्तर ओरालो लाग्ने पक्का भएकाले युवाहरूले पहलकदमी लिनुपरेको एक केन्द्रीय सदस्यले बताए । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा आज १ बजेबाट पार्टीलाई अब कसरी लैजाने भनेर छलफलको लागि भेला बोलाएको अखिल क्रान्तिकारी पूर्व अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य  रञ्जित तामाङले जानकारी दिए ।

पार्टीको पुनर्गठन गर्नुपर्छ भन्ने चाहना भएका युवाहरू आज बसेर एक चरण छलफल गरेर आएका निचोडहरूलाई पार्टी शीर्ष नेतृत्वसमक्ष बुझाउने तयारी रहेको  माओवादी नेता लेखनाथ न्यौपानेले बताए । यसमा युवा मात्रै नभएर पार्टी पदाधिकारी, स्थायी तथा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूसमेत सहभागी रहेकाले माओवादीका जनवर्गीय संगठनका अध्यक्ष र महासचिव पनि उपस्थित भएका उनको भनाइ छ ।

पार्टीभित्र योजना बनाउने तर कार्यान्वयन नगर्ने, देश माओवादीको एजेण्डामा चल्ने तर माओवादी दिनदिनै कमजोर हुँदै जाने क्रम नरोकिएपछि युवानेताहरू एकताबद्ध भएर छलफल गर्न लागेको एक नेताले बताए । पार्टी पुनर्निर्माणका लागि युवाहरूले पहल गर्नुपर्ने अवस्था आएकाले छलफल गरीएको अर्का युवानेता रामदीप आचार्यले बताए । आजको भेलामा काठमाडौंमा उपलब्ध युवानेताहरूसँगै उपमहासचिव हरिबोल गजुरेललगायत सहभागी भएका छन् ।

देशभरका युवानेताहरूसँग छलफल गरेर आउने निष्कर्ष पार्टी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतालाई बुझाउने उनीहरूको तयारी रहेको छ । निर्वाचनमा कमजोर नतिजा ल्याए पनि पार्टी अध्यक्ष प्रचण्ड अझै सरकारको दाबी गरिरहेका छन् । तर, युवा नेताहरुले पार्टी नेतृत्वलाई सरकारमा नगई पाँच वर्ष सरकार बाहिर बसेर संगठन निर्माणमा लाग्न दबाब दिइरहेका छन् ।

बिहीबार २२ मंसिर २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया