×

गुजरातमा भाजपाकाे १ सय ५२ स्थानमा अग्रता, आफ्नै रेकर्ड तोड्ने संकेत

images

भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ । भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) सरकारले विधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने देखिएको छ । 

यसअघि सार्वजनिक गरिएको सर्वेक्षणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।  गुजरात विधानसभा चुनावको मतगणना आज बिहीवार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ । 

गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि एक सय ८२ पर्यवेक्षक, ए कसय ८२ निर्वाचन अधिकृत र चार सय ९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् ।  गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात चुनावकाे दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९ दशमलव ११ प्रतिशत मतदान भएको थियो । 

डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३ दशमलव १४ प्रतिशत मतदान भएको थियो ।  गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गर्नुभएको थियो ।  सन् २०१७ को विधानसभा चुनावमा कांग्रेसले सत्तारूढ भाजपालाई कडा टक्कर दिएको थियो ।

यसैबीच भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र झन्डै ७५ दशमलव ६ प्रतिशत मतदान भएको थियो । 

भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट झन्डै १५ हजार मतका साथ अग्रस्थानमा रहनुभएको छ । उहाँले १४ हजार नाै सय २१ मतका साथ अग्रता कायम गर्दा कांग्रेसका उम्मेदवार चेतराम चार हजार तीन सय ५१ मतले पछि पर्नुभएको छ । सिमला ग्रामीणबाट कांग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल सात हजार दुई सय ३३ मतका साथ अगाडि रहनुभएको छ । 

हिमाचल प्रदेश विधानसभा चुनावकाे मतगणना बिहीवार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् । 

भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेको र कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेखित '१० सुनिश्चितता' लाई समर्थन गरेपछि पहाडी राज्यमा तीव्र अभियान चलेको थियो । राज्यको तेस्रो ठूलो राजनीतिक शक्तिको रूपमा आम आदमी पार्टीको उदयले चुनावी लडाइँलाई तीव्र बनाएको छ । 

यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् । 

विगत केही वर्षदेखि सरकार परिवर्तन गर्ने परम्परा रहेको यस राज्यमा मतगणना चलिरहँदा भाजपा र काङ्ग्रेस दुवैले विजय हासिल गरेको दाबी गर्दै आएका छन् । यदि भाजपाले जित्यो भने उसले सत्ताविरोधी लहरलाई परास्त गर्नेछ र राज्यमा वैकल्पिक सरकारको प्रवृत्तिमा परिवर्तन ल्याउनेछ ।  यहाँ सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ४४ सिट जितेको थियो भने कांग्रेसले २१ सिट जितेको थियो ।

बिहीबार २२ मंसिर २०७९ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया