×

सवइन्जिनियर दुबेविरुद्ध  ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

images

दुर्ई दिनअघि सेवाग्राहीबाट रु एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ । उनलाई उक्त अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 

सेवाग्राहीसँग घुस लिइरहेको पूर्वसूचनाको आधारमा बिर्तास्थित वडा प्रहरी कार्यालयको टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा शाखामा  बुझाउनका लागि रायसल्लाह लिँदा उक्त शाखाबाट  प्रहरीबाटै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको हो ।

मनवास्थित सवडिभिजन वन कार्यालयको  रु १७ लाखको लागतमा निर्माण भएको भवनको मूल्याङ्कन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए  । उनी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी हुन् ।  

सीमा क्षेत्रमा कोरोना सङ्क्रमित भेटिने क्रम बढ्दो 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुमा सीमा नाकामा भइरहेको आवतजावत प्रमुख कारण बन्न थालेको छ  । पर्साको वीरगञ्ज नाका भएर नेपाल प्रवेश गर्नेहरुबाट कोरोना सङ्क्रमण क्रम बढ्दै गएको हो ।सीमानाकामा स्थापित हेल्थ डेक्समा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाख महिनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकामा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेक्स इञ्चार्ज डा अनिसा महतोले जानकारी दिनुभयो ।

चैत र वैशाख महिनामा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमित नभेटिएकामा असार २२ गतेसम्म दुई हजार ५०० मा परीक्षण गर्दा १६ जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ ।
 भेटिएका सबै सङ्क्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ । पीसीआर परीक्षणका लागि आवश्यक एन्टीजेन्ट कीट अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिनुभयो । 

मुलुकको विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिलो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा यहाँका नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन् । बढ्दो सङ्क्रमणका कारण कुनै पनि प्रकारको लापर्वाही नगर्न चिकित्सकले सुझाव दिँदै आएका  छन् । 

शुक्रबार​ २४ असार २०७९ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया