×

प्रचण्डको संगत गरेपछि देउवा बन्दुकको भाषण गर्न थालेछन्- केपी शर्मा ओली

images

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका छन् ।  मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा बोल्दै ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताए ।

‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो- भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भने,’ ओलीले भने, ‘म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैं, तर्क तथ्यले गर्छ ।’

उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तछाड मछाड छ ।’   गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने, ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियौँ । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै ओलीले कटाक्ष गरे ।


आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए । ‘लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार र नीति नभएको गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् । यो विचारहीन र दिशाहीन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक फरक घोषणापत्र  बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटो आश्वासन बाँडेका छन् ।’

सोमबार २१ कात्तिक २०७९ ०२:२१ PM मा प्रकाशित

प्रतिक्रिया