×

रसुवामा धार्मिक महोत्सव सुरू

images

कथा वाचनको माध्यमबाट धार्मिक कार्यमा जागरण ल्याउन रसुवाको धुञ्चेमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू गरिएको छ । जनै पूर्णिमा पर्वमा लाग्ने पवित्र तिर्थ गोसाइँकुण्ड मेलाको अवसर पारी ठूलो सङ्ख्यामा भक्तजन सहभागी गराउने अभिप्रायले महायज्ञ सुरू गरिएको हो । 

प्रमुख कथा वाचक पण्डित वासुदेव घिमिरेका अनुसार धार्मिक ज्ञानको माध्यमबाट सामाजिक अनुशासन कायम गर्दै राष्ट्र कल्याण विश्व शान्तिको कामनाका साथ धुञ्चे क्षेत्रमा अवस्थित मिनी गोसाइँकुण्डलाई संरक्षण गर्ने अभिप्रायले श्रीमद्भागवत महायज्ञ सञ्चालनको आयोजना गरिएको हो ।

 आजदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञलाई रसुवाका वरिष्ठ समाजसेवी ८४ वर्षीय ज्येष्ठ नागरिक दावाफिन्जो तामाङले दीप प्रज्वलन गरी महायज्ञको शुभारम्भ गर्नुभएको थियो । उद्घाटन पूर्वभक्तजनले धुञ्चेको बजारमा कलस यात्रा गरेका छन् । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले गोसाइँकुण्ड शिवजीको पाउँमा सुरू भएको महायज्ञ धार्मिक महोत्सवले आन्तरिक एवं बाह्य पर्यटक, धार्मिक यात्रुको आगमनमा बृद्धिहुनेमा आफू आशावादी भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले धार्मिक कार्यमा आफूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । स्थानीय बासिन्दा, गोसाइँकुण्डका तीर्थयात्रीलाई लक्षित गरी जनैपूर्णिमाकै सेरोफेरोमा गरिएको धार्मिक महोत्सवको कथा वाचनले एकआपसी सद्भाव बढाउन मद्दत पुग्ने आयोजक समितिका अध्यक्ष विश्वराम देवकोटाले बताउनुभयो ।

बाजागाजासहित भजनका टोली काठमाडौँबाट ल्याइएको छ । निलकण्ठ भजन कृतन जीवजिवेको समूहले बालन भजनको कला देखाउँदै धुञ्चे बजार परिक्रमा गरेका थिए । हिन्दू तथा बौद्धग्रन्थको माध्यमबाट यथेष्ट ज्ञान दिलाउन धुञ्चेस्थित टुल्कुछेलिङ गुम्वाका युवा वरिष्ठ धर्मगुरू लामा दावासिदार घले, वाचक गोपीचन्द्र अधिकारी, माता रोजिना मगरलगायतको सहभागी रहने मूल आयोजक समितिले जनाएको छ ।

आइतबार​ २२ साउन २०७९ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया