×

बेलायतमा मन्त्री, सल्लाहकारसहित ४० जनाभन्दा धेरैकाे राजीनामा : प्रधानमन्त्री दबाबमा

images

बेलायतमा मन्त्रीसहित विभिन्न जिम्मेवारी सम्हालेका सल्लाहकारले राजीनामा दिएका छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री बोरिस जाेनसन दबाबमा पर्नुभएको छ ।

अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जाेनसनको साथ छोड्ने मन्त्री र सल्लाहकारको सङ्ख्या ४० भन्दा धेरै पुगेको बीबीसीले जनाएको छ ।

आफ्नै मन्त्रिपरिषद्का मन्त्री र सल्लाहकारले नै राजीनामा दिएपछि प्रधानमन्त्री जाेनसन दबाबमा पर्नुभएको हो । उहाँको कन्जरभेटिभ पार्टीभित्र र बाहिरबाट राजीनामा माग गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेललगायतले अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जाेनसन त्यसका लागि तयार नभएको खबरमा उल्लेख छ । बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । प्रधानमन्त्री जाेनसनको कार्यशैलीप्रति चर्को आलोचना हुँदै आएको छ । तर उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जाेनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जाेनसनले क्रिस पिन्चरविरुद्ध लागेकाे यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गर्नुभएको छ । जाेनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो ।

बिहीबार २३ असार २०७९ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया