×

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन- माधवकुमार नेपाल

images

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न  दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । 

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने, 'घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला। तर दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ। बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भएपनि उनीहरूलाई कानूनको दायरामा ल्याए दण्डित गरिनु पर्छ।'

शनिबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्ता भएको थियो। उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्।

आइतबार​ २४ बैशाख २०८० ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया