×

कानुनभन्दा माथि कोही छैन : सभामुख सापकोटा

images

सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताउनुभएको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उहाँले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको आज उद्घाटन गर्नहुँदै उहाँले सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले आज ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभयो । नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । उहाँले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो । 

सङ्घीय सांसद एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताउनुभयो ।
 
समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ ।
 
जिल्लाकै प्रख्यात भीमेश्वर मन्दिरबाट एक किलोमिटर मात्र पर रहेको बुद्धपार्क धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास नगरपालिकाले लिएको छ । साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिङ तामाङले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीयको आयस्रोतमा वृद्धि गरी सिङ्गो नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुद्धपार्कको निर्माण गरिएको बताउनुभयो ।
 
सदरमुकाम चौताराबाट तीन किलोमिटर दुरीमा रहेको बुद्धपार्क पुग्नका लागि नगरपालिकाले वैकल्पिक पदमार्गका रूपमा निर्माण गर्दै गरेको हजार सिंढीको कार्य पनि अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको आन्तरिक स्रोतमार्फत रु सात करोड ६७ लाखको लागतमा बुद्धपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

बिहीबार २४ चैत २०७८ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया