×

छ महिनामा एघार अर्बको सुन आयात

images

काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपैयाँ बराबरको १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपैयाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको छ । सुनको मूल्यमा उतारचढाव भइहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएसँगै नेपालको बजारमा पनि मूल्यमा घटबढ भइरहेको छ ।

बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपियाँमा कारोबार भएकामा शुक्रबार प्रतितोला एक लाख छ हजार एक सय, आइतबार एक लाख चार हजार एक सय रुपियाँमा कारोबार भयो । आइतबारको मूल्यमा पाँच सय रुपियाँ बढेर सोमबार एक लाख चार हजार छ सय रुपियाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भएका कारण यहाँ पनि अस्थिर बनेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा गत शुक्रबार प्रतिऔँस एक हजार ९१५ डलर रहेको सुनको मूल्य आइतबार घटेर एक हजार ८६५ डलरमा झरेको छ ।

सुनको मूल्य घटेर प्रतिऔँस एक हजार आठ सय रुपैयाँसम्म झर्ने अनुमान गरिएको शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार आठ सय डलरमा झरेपछि स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपियाँसम्म आउने उनको भनाई छ ।

पछिल्लो दुई दिनयता लगातार सुनको मूल्य घट्दै गए पनि अन्तर्राष्ट्रिय बजार अझै अस्थिर रहेकाले आगामी दिनमा घटबढ के हुन्छ भन्न नसकिने उनले बताए ।

अमेरिका र चीनको व्यापार युद्ध, रुस–युक्रेन युद्धको प्रभावले सुनमा लगानीकर्ता आकर्षित भई यस क्षेत्रमा लगानी बढ्दै गएको विज्ञहरूको विश्लेषण छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्छ । नेपाली बजारमा यो वर्षको साउनदेखि माघ १९ गतेसम्म सुनको मूल्य प्रतितोलामा १३ हजार नौ सय रुपियाँले वृद्धि भएको छ ।

लगातार सुनको मूल्य बढेपछि बिहेको सिजनमा पनि कारोबार बढ्न सकेको छैन । विगतका वर्ष यतिबेला दैनिक ३० देखि ४० केजी सुन वितरण हुने गरेकामा अहिले मूल्य बढेकाले आधाले घटेर २० देखि २५ केजी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । गोरखापत्र दैनिकबाट
 

मङ्गलबार २४ माघ २०७९ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया