सङ्कटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

    images

    पोखरा । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे ।

    विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे । खेलको सुरुवातमै २-० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन ।  खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए ।

    सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलाेमाेउले  संकटाकाे अग्रता दाेब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

    योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

    खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले गोल गर्दै जित सुनिश्चित गरेका हुन् । प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

    शनिबार २३ पुस २०७९ ०८:२९ PM मा प्रकाशित

    प्रतिक्रिया