×

पूर्व प्रधानमन्त्री इमरान खानले ‘आपत्तिजनक भिडियो’ माथि माफी मागे, के हो घटना ?

images

एजेन्सी - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका ‘सिनेटर (सांसद) की श्रीमतीको गोपनीयता’ माथि भएको हमलाको निन्दा गरेका छन् र प्रधानन्यायाधीशलाई यसको संज्ञान लिन आग्रह गरेका छन् । उनले सम्पूर्ण पाकिस्तानको तर्फबाट सांसदकी श्रीमतीसँग माफी मागेका छन् । वास्तवमा इमरान खानको बयान सिनेटर आजम स्वातीको त्यो पत्रकार सम्मेलनपछि आयो जसमा उनले उनको र उनको परिवारमाथि के भएको थियो विस्तृत जानकारी दिएका थिए ।

आजम स्वातीले के भनेका थिए ?

पत्रकार सम्मेलनमा आफ्नो व्यथा सुनाउँदै स्वाती रोएका थिए । उनले उनकी श्रीमतीलाई कुनै अपरिचित नम्बरबाट उनको र उनकी श्रीमतीको ‘आपत्तिजनक भिडियो’ पठाइएको जानकारी दिए । साथै, उनले भने, ‘यो भिडियोबारे भन्न सक्दिनँ किनभने मेरो देशका छोरीहरुले यसलाई सुनिरहेका छन् ।’ उनका अनुसार यो प्रकरणपछि उनकी श्रीमती र नातिनीहरुले  देश छोडेका छन् ।

 

 

इमरान खानले ट्वीटरमा भनेका छन्, ‘पाकिस्तान मानवीय गरिमा, परिवारको सम्मान र ‘पर्दा र पर्खाल’ ननाघ्ने इस्लामी नैतिक मूल्यमा बनेको छ ।’   तर सरकारको हातबाट आजम स्वातीमाथि जे भएको छ, त्यो यी सबै मूल्यमान्यताको उल्लङ्घन हो । उनले भने, ‘हिरासतमा उनको लुगा उतारियो र उनलाई प्रताडित गरियो । अब यो भिडियोमार्फत् उनकी श्रीमतीको गोपनियता भंग भएको छ ।’

इमरान खानले यो भिडियोलाई स्तब्ध पार्ने, घृणित र अत्यन्त निन्दनीय भनेका छन् । उनले यस्तो अवस्थाबाट कुनै पनि मानिस गुज्रन नहुने बताए । उनले पाकिस्तानका प्रधानन्यायाधीशलाई यस गोपनीयता उल्लङ्घनलाई संज्ञान लिन  र नोटिस जारी गर्न माग गरे ।

उनले भने, ‘ म पाकिस्तानको तर्फबाट श्रीमती स्वातीसँग माफी माग्न चाहन्छु जो सार्वजनिक जीवनबाट टाढा रहने र असाध्यै धार्मिक महिला हुन् । उनलाई यसले दुःख र पीडा दिएको छ र अपमानको जुन भावनाबाट उनी गुज्रनुपरेको छ, त्यसका लागि पूरा पाकिस्तानको तर्फबाट माफी माग्छु ।’

स्वातीले हिरासतमा यातना दिएको आरोप लगाएका थिए

यसअघि, इमरानको पार्टी तेहरिक–ए–इन्साफकी सांसद स्वातीले आफूलाई सेना र संघीय अनुसन्धान एजेन्सी (एफआईए) अधिकारीहरूले ‘हिरासतमा यातना’ दिएको आरोप लगाएका थिए । स्वातीले भविष्यमा अरुलाई यस्तो नहोस् भनेर सेना प्रमुख र प्रधानन्यायाधीशबाट छानबिन गर्न माग गरेका छन् । सेना विरोधी ट्वीट गरेको आरोपमा स्वातीलाई पक्राउ गरिएको थियो । तर, पछि उनी धरौटीमा रिहा भए । पत्रकार सम्मेलनमा स्वातीले घटनामा दुईजना वरिष्ठ सैनिक अधिकृतलाई जिम्मेवार ठहर गरेका थिए । उनले यसमा एफआइएका अधिकारी संलग्न भएको समेत बताएका थिए ।

इमरानले फेरि लङ मार्च सुरु गर्न सक्छन्

यसअघि इमरानले शुक्रबार देशवासीलाई सम्बोधन गरेका थिए । बिहीबारको र्‍यालीमा गोली चलाएपछि इमरानले अस्पतालबाटै देशवासीलाई सम्बोधन गरेका थिए । जसमा उनले चार जनाले आफुलाई मार्ने षड्यन्त्र गरेको बताएका छन् । गोलीबारीपछि पहिलो पटक क्यामेराको अगाडि देखा परेका इमरान खानले आक्रमणमा आफूलाई चार गोली लागेको बताए ।

इमरान खानले देशका जनता आफूलाई सत्तामा हेर्न चोहेको तर कतिपयलाई यो मन नपरेको दाबी गरेका छन् । त्यही भएर उनलाई मार्ने प्रयास गरिएको उनले बताए  । उनले भने, ‘अल्लाहले नयाँ जीवन दिनुभएको छ, म फेरि लड्नेछु ।’

इमरान खानले बिहीबार आफ्नो र्‍यालीमा भएको गोलीबारीमा पुरानो मनोवृत्ति राख्दै सरकारसँग टकरावको प्रक्रिया जारी राख्ने घोषणा गरेका थिए । इमरानलाई पञ्जाबको वजिराबादमा गोली लागेको थियो । सो गोलीबारीमा एक जनाको मृत्यु भएको छ । इमरान खान खतरामुक्त छन् र उनले फेरि लङ मार्च सुरु गर्न सक्नेछन् ।

बीबीसी

आइतबार​ २० कात्तिक २०७९ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया