×

पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा

images

काठमाडौं । पाकिस्तान टि-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर १२ चरणको १ खेल बाँकी छँदै सेमिफाइनल पुग्ने ४ टिमको छिनोफानो भएको हो । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै १२८ रन बनायो ।

पाकिस्तानका लागि सर्वाधिक मोहम्द रिजवानले ३२ रनको योगदान गरे । त्यस्तै मोहम्द हरिसले ३१ रन बनाउँदा कप्तन बाबर आजमले २५ रनको योगदान गरे । बलिङतर्फ बंगलादेशका लागि नसुम अहमद, मुस्तफिजुर रहमान, साकिब अल हसन र इबादोत हुसेनले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे ।

बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै सादाब खानले दुई विकेट लिए । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले ५ खेलबाट ६ अंक जोड्यो ।  दोस्रो स्थानमा रहेको भारतको पनि समान अंक छ । अब भारत र जिम्बावे बीचको खेलपछि सेमिफाइनलमा कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्ने तय हुनेछ । 

समूह १ बाट पहिले नै न्युजिल्याण्ड र इङ्ल्याण्ड सेमिफाइनल पुगिसकेका छन् । न्युजिल्याण्ड समूहको पहिलो र इङ्ल्याण्ड दोस्रो भएर सेमिफाइनल पुगेका छन् । vअब समूह २ मा भारत र पाकिस्तानमा को पहिलो र को दोस्रो हुने छिनोफानो हुन बाँकी छ । केहीबेरमा हुने भारत र जिम्बाब्वेको खेलपछि यो समूहको पहिलो र दोस्रो टिम छिनोफानो हुनेछ ।

यो खेल भारतले जितेमा पहिलो हुनेछ र सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ र पाकिस्तानले न्युजिल्याण्ड प्रतिद्वन्द्वी पाउनेछ । यदि यो खेल भारतले हारेमा पाकिस्तान पहिलो हुनेछ र सेमिफाइनलमा इङ्ल्याडसँग खेल्नेछ भने भारतले न्युजिल्याण्डसँग खेल्नुपर्नेछ । भारत र पाकिस्तानको सेमिफाइनल प्रवेशले यी दुई टोली फाइनलमा भिड्न सक्ने समिकरण बनेको छ ।

त्यसका लागि यी दुवै टोलीले सेमिफाइनल जित्नुपर्ने छ । सन् २००७ मा आयोजित पहिलो टी-२० विश्वकपमा पनि भारत र पाकिस्तान भिडेका थिए । त्यतिबेला पाकिस्तानलाई हराएर भारत विश्व च्याम्पियन बनेको थियो । त्यसयता भारतले यो प्रतियोगिता जित्न सकेको छैन । पाकिस्तानले दोस्रो संस्करणमा फाइनल पुगेर श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसयता पाकिस्तान पनि यो प्रतियोगिताको उपाधि जित्न असफल रहेको छ ।

 

आइतबार​ २० कात्तिक २०७९ ०२:५९ PM मा प्रकाशित

प्रतिक्रिया