×

बेलायती महारानी एलिजाबेथद्वारा प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त

images

बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त हुनुभएको छ । बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ । यसअघि आज मङ्गलवार नै निवर्तमान प्रधानमन्त्री बाेरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिकरूपमा राजीनामा दिनुभएको थियो ।

ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गर्नुभएको थियो । निवर्तमान प्रधानमन्त्री जोनसनले राजीनामा दिने बताएपछि कन्जरभेटिभ पार्टीले आठ हप्ताअघि नेतृत्व छान्ने प्रक्रिया सुरु गरेको थियो । हिजो साेमवार विजयी भएपछि ट्रसले मतदातालाई धन्यवाद दिँदै बेलायतको सुखद भविष्यका लागि आफूले काम गर्ने बताउनुभयो । उहाँले आफ्नो पूर्वघोषणाअनुसार व्यापक कर कटौती गर्दै अर्थतन्त्र बलियो बनाउने पनि दोहोर्‍याउनुभयो ।

ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बन्नुभएको छ । यसअघि टेरेजा मे र मार्गरेट थाचर प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्री ट्रसले ब्रेक्जिट, कोरोनाविरुद्धको सशक्त लडाइँ र युक्रेनमा रुसको दमनविरुद्ध अडिग रहेकोमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि धन्यवाद दिनुभएको छ ।

ट्रसले भोलि बिहान मन्त्रिपरिषद्को पहिलो बैठक राख्ने र त्यसअघि केही मन्त्री नियुक्त गर्नुपर्ने बीबीसीले जनाएको छ । 

मङ्गलबार २१ भदौ २०७९ ०६:१३ PM मा प्रकाशित

प्रतिक्रिया