×

सांसद विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति

images

काठमाडौं । नेपाली खर्बपति एवं सांसद विनोद चौधरीको सम्पत्ति बढेको फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा फैलिएको छ ।

उनको स्वामित्वमा सीजी ग्रुपअन्तर्गत १ सय ४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटेल छन् । ६७ वर्षका चौधरी हाल नेपाली कांग्रेसका तर्फबाट नवलपरासीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

फोब्र्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ ।

अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ ।

नेपालका विनोद चौधरी पनि अर्बपतिको १६४७औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९ सय ६५औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।

बिहीबार २३ चैत २०७९ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया