×

टर्की र सिरियामा भूकम्पले करिब ३०० जनाको मृत्यु, संकटकाल घोषणा

images

काठमाडौं । टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७.८ मापन गरिएको छ।भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय जनाको मृत्यु भएको हो । सयौं व्यक्तिहरु घाइते भएका छन् । भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् ।

त्यसलगत्तै सिरियाको स्वास्थ्य मन्त्रालयका अनुसार २३० जनाको मृत्‍यु भएको छ । यस्तै टर्कीका अधिकारीहरुले आफ्नो देशमा ७६ जनाको मृत्‍यु भएको र ४४० जना घाइते भएको बताएका छन् ।

भूकम्पको धक्का साइप्रस, लेबनान, इजरायल र प्यालेस्टाइनमा समेत महसुस गरिएको थियो । टर्कीको गाजियानटेप निवासी अर्डेमले रोयटर्ससँग कुरा गर्दै यत्तिको कडा धक्का अहिलेसम्म महसुस नगरेको बताएका छन् ।

भूकम्पले पुर्याएको क्षति पछि टर्की सरकारले देशमा संकटकाल घोषणा गरेको छ । टर्कीका गृहमन्त्रीले देशका १० वटा शहरमा भूकम्पले बढी क्षति पुर्‍याएको बताएका छन् ।

सोमबार २३ माघ २०७९ ०१:३६ PM मा प्रकाशित

प्रतिक्रिया