×

न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

images

काठमाडौं । सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सत्ता साझेदार दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न कार्यदल बनाएका छन्।

उक्त कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललगायत छन्। सरकारलाई समर्थन गरेका ७ दलबाट एकेक जना प्रतिनिधि राखेर कार्यदल बनाइएको छ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् । न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने र जारी गर्ने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। त्यसअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ। सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ। विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरूमा केन्द्रित हुने गठबन्धनको तयारी छ । 

 

शुक्रबार​ २२ पुस २०७९ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया