काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको हो। पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ । शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो।
उक्त रकम फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो। कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका देखिएको थियो ।
शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको थियो ।
वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।
प्रतिक्रिया