×

वीर गणेशमान सिंह टेनिस सुरु, प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

images

काठमाडौं ।  दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन  प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे । यस्तै विशेष अतिथि तथा नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिका संयोजक सन्जिब तुलाधर, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, राजिब श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन शनिबार पुरुष डबल्सतर्फ प्रदीप खड्का र प्रणव खनालको जोडीलेसेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रितम परियार र निजिज महर्जनको जोडीबाट वाक्ओभर पाउँदै प्रदीप र प्रणवको जोडीले अन्तिम चारको यात्रा तय गरेका हुन् । पुरुष डबल्सतर्फनै राजबिर प्रधान र सक्षम शाहको जोडीले आशिष खड्का र सौगात बिकको जोडीलाई ६-० र ६-३ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै पुरुष डबल्समा ऋतिक राना र निशान श्रेष्ठको जोडीले रानभ मानन्धर र निहल थापाको जोडीलाई ६-३ र ६-२ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् । केशव गौचन र सौरभ पन्तको जोडीले मनोज महर्जन र सुसल मोक्तानको जोडीलाई ६-२ र ६-२ ले हराएर पुरुष डबल्सतर्फ नै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

३५ वर्षमाथिको पुरुष डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले मान बहदुर कटुवाल र भिष्म गुरुङको जोडीलाई ६-० र ६-३ ले हराएर अन्तिम चारको यात्रा तय गरे ।

 

शनिबार १९ कात्तिक २०७९ ०८:५४ PM मा प्रकाशित

प्रतिक्रिया