×

वडा समाजवादी कार्यक्रम ल्याइने - मुख्यमन्त्री पाण्डे

images

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८/७९ मा वडा समाजवादी कार्यक्रम ल्याइने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको आगामी आव २०७८/७९ को बजेट तर्जुमाका लागि अन्तक्र्रिया तथा छलफल कार्यक्रममा उहाँले सरकारमा सामेल तीनवटै दलको नीति समाजवाद भएकाले वडामा पाइलट कार्यक्रमका रूपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । उहाँले योजना बनाउँदा बहुवर्षीय योजनाका दायित्व छुट्याएर नयाँ योजना बनाउन मन्त्रालयलाई निर्देशन दिनुभयो । 

प्रदेश गौरवका योजना बनाउँदा मापदण्ड बनाइने, न्यूनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । सीपयुक्त जनशक्ति निर्माण गर्नका लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आवश्यक्ता रहेको उहाँको भनाइ छ ।

यसका साथै शैक्षिक क्षेत्रमा ध्यान दिइनेसमेत उहाँले बताउनुभयो । संसद्मा रहेको विषयगत समिति र सबैदलसँग सुझाव लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीलाई निर्देशन दिनुभयो ।

त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयमा हस्तक्षेप नगर्ने बताउँदै न्यायोचित ढङ्गले बजेट सिलिङ गरिने जनाउनुभयो । साथै अबण्डा बजेटलाई निरुत्साहित गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

पूँजीगत र चालु खर्चलाई सन्तुलित सन्तुलित बनाइने उहाँको भनाइ छ । सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारले एकीकृत बस्तीको योजना बनाउँदा रोजगारीको पनि व्यवस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । शिक्षालाई प्राथमिकतामा राख्न उहाँले सुझाव दिनुभयो ।

मङ्गलबार २२ चैत २०७८ ११:५९ PM मा प्रकाशित

प्रतिक्रिया