कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ : अध्यक्ष केपी शर्मा ओली

    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै कांग्रेसले ढोक्सा थापेर गलत गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार्न नसकेर प्रतिपक्षमा पुगिसकेको कांग्रेसले सरकार गठन भइसकेपछि हठात् रूपमा विश्वासको मत दिएको बताए ।

    उनले भने, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो ।

    सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ ।’ ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् साथै  अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको टिप्पणी गरेका छन् ।

     साथै ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे । ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने । 

    उनले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले भने– ‘हामीले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको छ । २००७ सालपछि कुनै पनि प्रधानमन्त्रीले ५ आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न सकेको छैन । २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री समेत २ वर्षमै अपदस्त भए र थुनामा परे ।

    हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।’

    उनले देशलाई आकार दिने राजनीति आफैँ दिशाविहिनताको भैपरी आउने अवसर पर्खेर बसेको उल्लेख गर्दै हामी कहिलेसम्म मदारीको जम्मुरे भएर बसिरहने ? भन्दै प्रश्न गरे ।

    अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरू मिलेर आत्मविश्वासका साथ निडरताका साथ नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि सङ्कल्प गर्न आग्रह गरे । उनले राजनीतिक अस्थिरताको अन्य गरी मुलुकमा राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गराउन आग्रह गरे ।

    आइतबार​ २२ माघ २०७९ ०३:३० PM मा प्रकाशित

    प्रतिक्रिया