काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् । उनलाई मानवीय कारण जमानीमा रिहा गरिएको हो । उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो।
उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अकिारीले बताए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत तीन जना कर्मचारी पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य-सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।
प्रतिक्रिया