काठमाडौं । प्रमुख तीन राजनीतिक दल संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन सहमत भएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले बताए।
कानुनमन्त्री गुरुङका अनुसार संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुनेछ । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नेछन् । छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए । छलफलमा सभामुख घिमिरेले सभापतिबारे दलहरू टुंगोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका हुन्।
‘चुनाव गर भन्नुहुन्छ कि सहमति गर्नुपर्छ। नत्र मैले स्टेप चाल्छु भनेर जानकारी गराएको छु,’ बैठकपछि उनले भने, ‘आजको बैठक समितिको सभापति चयनबारे नै थियो। त्यसैमा छलफल भयो। यसलाई अविलम्ब टुंग्याउने समझदारी भयो। निर्वाचनचाहिँ हुन्छ तर, सहमतिमा हुन्छ कि कसो हुन्छ।अब हामी त्यसतर्फ लाग्छौं।’
त्यस्तै विभिन्न विधेयकहरू अघि बढाउन समितिको नेतृत्व आवश्यक छ भन्ने निचोडमा पनि छलफल पुगेको सभामुख घिमिरेले बताए। प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।
प्रतिक्रिया