राष्ट्रियसभाले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभाले सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
विशेष समय
राष्ट्रियसभाका सांसदहरुले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौड्यालले न्यायालय, आयोगलगायत राज्यका संरचना पछिल्लो समयमा कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ संसद्ले नागरिकता र कर्मचारीलगायतका ऐन ल्याउन सकेको छैन, सांसदको हैसियतले मलाई चिन्ता छ ।”
सांसद बीना पोखरेलले बाढी र पहिराका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको भन्दै प्रभावित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमा कार्यान्वयन भए÷नभएकाबारे सरकारले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणदत्त मिश्रले किसानले मल अभावबारे भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार ११ बजे बस्नेछ ।
प्रतिक्रिया