×

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक, गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रचण्डको प्रस्ताव

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । उक्त समय आज सकिँदैछ। समय सकिन लागेकाले पुन: बैठक बसेर निर्णय लिन लागेको हो।  

शनिबारै सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै छलफल जारी रहेको र समस्याको समाधान हुने बताएका थिए।

पछिल्लो समय सभापति लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएको बताइएको छ । 

तत्काल सरकारबाट बाहिरिनु भन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका छन् ।  आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ । 

शनिबार २१ माघ २०७९ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया