×

स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

images

यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।

काठमाडौं उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

उक्त कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठूलोभर्याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो । 

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितोरूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुरयाइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उनले बताए ।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए । यदि यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

बुधबार २० पुस २०७९ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया