×

पर्यटनमन्त्री श्रेष्ठको प्रतिवद्धता– आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउँछु

images

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउने उद्‍घोष गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौं–८ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार बनेका श्रेष्ठले निर्वाचन लक्षित घरदैलो अभियानका क्रम यस्तो उद्‍घोष गरेका हुन् । बिहीवार काठमाडौंको स्वयम्भुबाट अभियान शुरु गर्दै मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । 

शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने बताए । अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पूरा गरेको बताउँदै उनले संघीय संसदमा रहेर जनमुखी कानून बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भूमिका खेल्ने बताए । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटनलगायत बहुआयमिक विकासमा आफू केन्द्रित हुने उनले बताए । 

‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ’ मतदातासँग मन्त्री श्रेष्ठले भने, ‘पर्यटकीय आकर्षणका योजनाहरू पनि अघि बढाउँछु ।’ घरदैलो अभियानको पहिलो दिन बिहीवार काठमाडौं–८ का भगवान पाउ, विजेश्वरी, बडेगाल, फुर्के सल्ला, तल्लो बिजेश्वरी, सशुख्वाट मार्ग र डल्लु चौतारा क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरूले मतदाता भेटघाट गरेका थिए । 


 

बिहीबार १७ कात्तिक २०७९ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया