×

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, प्रधानमन्त्रीले गरे आक्रमणको निन्दा

images

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।इमरानको खुट्टामा गोली लागेको छ। अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ।   गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन्। बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए।  उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन्। 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको गोली प्रहारको निन्दा गरेका छन् । उनले गृहमन्त्री राणा सनाउल्लाहलाई आईजी पुलिस र पञ्जाबका मुख्य सचिवसँग तुरुन्त घटनाको थप रिपोर्ट लिन निर्देशन दिएका छन् । 

प्रधानमन्त्री सरिफले गोली प्रहारको घटना सार्वजनिक भएपछि चीन भ्रमणबारे जानकारी दिन पूर्व निर्धारित पत्रकार सम्मेलन स्थगित गरेका छन् । शाहबाज सरिफ दुई दिने चीन भ्रमण सकेर आजै स्वदेश फर्किएका हुन् । इमरान खान सबार कन्टेनरमा भएको आक्रमणकै कारण उक्त पत्रकार सम्मेलन स्थगित गरिएको सूचना मन्त्री मरियम औरङ्गजेबले बताएकी छन् । 

‘गोलीबारीको घटनापछि उत्पन्न संवेदनशितलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहबाज सरिफको चीन भ्रमणपछि गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ,’ मन्त्री मरियमले भनिन् । इमरान खानले तत्काल चुनावको माग गर्दै आह्वान गरेको लंग मार्चको सातौं दिनमा गुजरान्बालाको अल्लाहवाला चौकमा यो घटना भएको हो । गोलीबाट चोट लागेका खानको स्थिति भने सामान्य रहेको बताइएको छ । 

समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ।  केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो। गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए। सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए। 

सत्ता छोड्नु परेपछि उनले विदेशीको इशारामा आफ्नो सरकार ढालेको भन्दै विभिन्न सहरमा र्‍याली गर्दै आएका छन्। प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध पनि उनले कानुनी उपचार खोज्ने बताएका छन्। 

बिहीबार १७ कात्तिक २०७९ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया