×

नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

images

काठमाडौं । बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।

मन्त्री किरातीको चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको मन्त्रालय स्रोतको दाबी छ। यो जग्गा काठमाडौंको व्यस्त स्थान नक्सालमा छ। १५ रोपनी जग्गा बजारमूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने मन्त्री किरातीको तयारी रहेको जनाइएको छ।

स्रोतका अनुसार मन्त्री किराती र पर्यटन मन्त्रालयका अधिकारीहरूको प्रस्तावप्रति नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति पोखरेलले असन्तुष्टि जनाएकी छन्। उक्त जग्गा निजी क्षेत्रलाई दिए ललिता निवास प्रकरणमा जस्तै भविष्यमा आफू विवादमा पर्न सकिन्छ भन्ने डर पोखरेललाई छ।

‘१५ रोपनी जग्गा निजी क्षेत्रलाई दिने प्रस्तावमा पोखरेलले सहमति जनाएकी छैनन्। कुनै अन्तर्राष्ट्रिय निकायबाट सहयोग लिएर उक्त जग्गामा आफैंले सभा भवन बनाउन सके प्रतिष्ठानका निम्ति नियमित आम्दानी हुने पक्षमा कुलपति पोखरेल र कर्मचारी छन्,’ स्रोतले भन्यो।

तर परिषद् सचिव कुश्मा महरा र श्रव्यदृश्य प्रमुख चेतन सापकोटालगायतले मन्त्री राईको योजनाअनुसार उनीहरूले चाहेको कम्पनीलाई दिएर भवन बनाउन र त्यसलाई भाडामा लगाउन चाहेका छन्। त्यसका निम्ति निरन्तर प्रयास भइरहेको छ। १५ रोपनी जग्गा हडप्न खोज्ने टोलीले कुलपति पोखरेलसमक्ष १० प्रतिशत कमिसनको आकर्षक प्रस्ताव राखेको स्रोतको दाबी छ।

आफूलाई आएको यो प्रस्तावको जानकारी कुलपति पोखरेलले मन्त्री राई, सचिव सुरेश अधिकारीलगायतको उपस्थितिमा जानकारी दिएकी थिइन्। आफूलाई यस्तो कमिसन पनि नचाहिने बरु आफैंले भवन बनाउनुपर्ने अडान उनले राखेकी थिइन्। तर मन्त्री राईले भने सुरुदेखि नै यो जग्गा व्यावसायिक प्रयोगका लागि दिनुपर्ने बताउँदै आएका छन्। नागरिक दैनिकबाट

सोमबार १८ असार २०८० १०:०८ AM मा प्रकाशित

प्रतिक्रिया