पक्राउ परेका नेता कार्यकर्ता रिहाइ राप्रपाको आग्रह

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित रुपमा फसाई नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । 

    काठमाडौैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा राप्रपा जिल्ला कोषाध्यक्ष चाँगुनारायण नगरपालिका–७ निवासी ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।

    कित्ता नं ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गासहित बैनाबापत रु पाँच करोड २० लाख पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् । पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले चुनाव सकिएपछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरूले राप्रपाविरुद्ध षडयन्त्र गर्दै सुनियोजित रुपमा फसाएको आरोप लगाउनुभयो ।

    देवयानी मुद्दा चलिरहेको यस घटनामा नियम विपरीत दबाब र प्रभावमा परेर प्रहरीले पक्राउ गरी मुद्दा चलाएको आरोप लगाउँदै उहाँले २०७७ साल चैत ३० गते खोटाङको बुइपा–३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्त जग्गा २०७८ साल पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको अवस्थामा पनि प्रहरीले सत्यतथ्य अनुसन्धान नगरी पक्राउ गरेको उहाँले जिकिर गर्नुभयो ।

    पत्रकार सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौताअनुसार छ महिनाको भाखा राखेर २०७७ साल चैत ३० गते उक्त जग्गा खरिद–बिक्रीका लागि बैनापट्टा गरिए पनि २०७८ साल पुस ३० गतेको अवस्थालाई जोडेर मुद्दा दर्ता गरी राप्रपाका नेता  तथा कार्यकर्ता पक्राउ गर्नु बदनियतपूर्ण भएको आरोप लगाउनुभयो ।

    जग्गा बैना तीन वर्षअगाडि नै गरिए पनि बैनाबापत राई समेतले दिएको रकमको चेक बाउन्स भए पनि पक्राउ परेका अधिकारी समेतले प्रहरीमा उजुरी नगरी सहमतिमै समस्या सुल्झाउन खोज्दा उल्टै राईको समूहले अधिकारीलाई झुटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दाबी छ । उहाँले तत्काल पक्राउ परेका अधिकारी र गाइजूलाई रिहा गरी सत्यतथ्य छानबिन गर्न पत्रकार स्म्मेलनमा माग गर्नुभयो ।

    शुक्रबार​ २० जेठ २०७९ ०८:५१ PM मा प्रकाशित

    प्रतिक्रिया