तिमी स्विकार
या नस्विकार जे गर
तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि
पढेका हौं प्रेमको बर्णमाला
उतिबेलै हामी आफैंले उठाएका हौं
प्रेमको बडेमानको पर्वत
त्यहीं बनाएका हौं
प्रेमकै इँटा इँटा जोडेर सुरक्षित घर
बनाएका हौं भव्य शहर
अनि बसाएका हौं उज्यालो वस्ती
र एकाअर्कालाई गरेका हौं बेस्सरी प्रेम ।
त्यो समय
एक साथ सयौं सूर्यहरु उदाएको समय
अचानक भेटिएका थियौं हामी ।
यो शहर,
जहाँ फूलबाट छु्ट्टाउन सकिन्न सुवास
जसरी आगोबाट छुट्टाउन सकिन्न राप
त्यसैगरी छुट्टाउन सकिन्न
अनुहारबाट समावेशी आभा ।
र अलग्याउन सकिन्न मनको आलिशानबाट
प्रेमको लोकप्रिय लय ।
नहिडिउन्जेलको झाडी बाटो
हिंड्दै गएपछि गोहो बन्छ
यस्तै ससाना गोरेटोहरु भेटिएर
हामी चौंडा सडक बन्यौं ।
बगानका झाङहरुबाट चिया टिपेझैं
उमेरका रड्डहरु टिपेर
रङ्गै रङ्गको इन्द्रेणी बनायौं
फूलहरुको वस्तीवीच
कहिले फूल त कहिले सुगन्ध बाच्यौं ।
रहरको लट्टाइमा फनफनी बाँधिएर
विश्वासको चङ्गा अग्लिरह्यौं
यो यस्तो उचाइ,लाग्छ –
यहाँ भन्दा माथि अर्काे आकाश छैन
तमाम तारा नक्षत्रहरु यतै छन् ।
यो यस्तो प्रेमको शहर
जहाँबाट सिङ्गै संसार आँखामा देख्न सकिन्छ
जहाँ अविराम बजिरहन्छ प्रेमको सारङ्गी
अनि गुन्जिइरहन्छ प्रेमगीत ।
यही बाटोमा हिड्दै हिड्दै कतै भेटेका हौं
कैयौं पटक अराजक पहाडहरु
सुनेका हौं थुप्रैपटक
विसङ्गत र असभ्य शर्तहरु
बिलाएर गएको
समयको एउटा अमानक गर्त ।
बर्षात पछि खुलेको पृथ्वी झैं
यो सफेद मौसम हेर्दै
त्यसपछि
यही सर्वाेच्च प्रेम शिविरमाथि बसेर
गाएको हो हामीले पहिलो प्रेमगीत
र एक एक टुक्रा कलेजो निचोरेर
रातो मसीले लेखेको हो
प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त ।
तारा पराजुली,मोरङ
प्रतिक्रिया