×

नेकपा एकीकृत समाजवादीले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहर बनाउने

images

नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ ।

उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास गरी ऐतिहासिक तथा पुरातात्विक संरचना र बस्तीलाई संरक्षित गर्न आवश्यक ऐन निर्माणका लागि पार्टीले पहल गर्ने भएको हो । पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री बनाउन उचित मुआब्जा दिई अव्यवस्थित संरचना अधिग्रहण गर्ने, नीति अवलम्बन गरेको छ ।

राजधानीलाई फोहर, हिलो, धुलो र प्रदूषणमुक्त बनाउने, राजधानीका नदी, खोला–नाला र तालमा ढल र फोहर पानी मिसाउन प्रतिबन्ध गरी वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी र खोलालाई सफा एवं स्वच्छ राख्ने तथा विद्युतीय वाहन प्रयोगमा जोड दिइएको छ ।

पार्टीका प्रचार विभाग सदस्य भूपराज खडकाका अनुसार जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि अनुकूलन एवं न्यूनीकरण कार्यक्रम सञ्चालन तथा मापदण्डविपरीतका प्लाष्टिक झोला र वातावरणमा प्रतिकूल असर पार्ने सामग्रीको प्रयोगलाई निषेध गरिने छ । स्वच्छ, सुन्दर र आधुनिक राजधानीको अवधारणाअन्तर्गत २०८५ पश्चात् राजधानीमा सञ्चालन हुने सबै सवारीसाधन विद्युतीय हुने गरी व्यवस्था मिलाउन पार्टीले भूमिका निर्वाह गर्ने छ ।

बुधबार १६ कात्तिक २०७९ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया