×

भारत सेमिफाइनल सम्भावना बलियो

images

एडिलेड । भाग्यले साथ दिएपछि भारतको ट्वान्टी ट्वान्टी विश्वकप २०२२ को सेमिफाइनल सम्भावना बुधबार बलियो भएको छ । उसले बंगलादेशलाई डकवर्थ लेविस नियमअन्तर्गत पाँच रनले पराजित गर्‍यो । वर्षाले खेल रोकिन अगाडि बंगलादेश बलियो स्थितिमा रोकिएकोमा खेल फेरि सुरु हुँदा परिस्थिति भारतको पक्षमा मोडिएको थियो ।

जितका लागि १६ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्य पाएको बंगलादेशले छ विकेट गुमाएर १ सय ४५ रन मात्र बनायो । यस जितपछि भारतको छ अंक भएको छ र दक्षिण अफ्रिकालाई उछिनेर समूहको शीर्ष स्थानमा उक्लेको छ  । बंगलादेश भने चार अंकमा तेस्रो स्थानमा कायम रह्यो । भारतको अन्तिम खेल जिम्बावेविरुद्ध रहेको छ भने बंगलादेशले पाकिस्तानको सामना गर्नेछ ।

बंगलादेशी इनिङ्सको सातौं ओभरको समाप्तीमा पानी पर्न सुरु भएको थियो र त्यति बेला बंगलादेश विना कुनै विकेटको क्षति ६६ रन बनाएर बलियो स्थिति थियो । त्यस अगाडि पहिले ब्याटिङको निम्तो पाएका भारतले २० ओभरमा छ विकेटमा १ सय ८४ रन बनाएको थियो । त्यसमा केएल राहुलले ३२ बलमा ५० रन बनाए भने विराट कोहलीले नटआउट रहेर ४४ बलमा ६४ रन बनाए ।

दिनको पहिलो खेलमा नेदरल्यान्ड्सले जिम्बावेमाथि पाँच विकेटको जित रचेको छ । जितका लागि १ सय १८ रन पछ्याएको नेदरल्यान्ड्सले पाँच विकेट गुमाएर १८ ओभरमा १ सय २० रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । 

बुधबार १६ कात्तिक २०७९ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया