चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गर्नुभयो । पिसिओ ९टेलिफोन सेवा०, रेमिट्यान्स, निर्माण व्यवसायी र विभिन्न सामाजिक संस्थामा सेवा गरेर आत्मसम्मानका साथ जीवनयापन गर्ननसके पछि उहाँ अहिले बाख्रापालनमा रमाउँदै आउनुभएको हो ।
विसं २०७१ मा वडा नं ३ र ८ को सिमानामा रहेको जरुवा खोला किनारमा आफ्नो १३ रोपनी जमिनमा लाँगर्चे एग्रो फार्म दर्ता गरेर काम सुरु गर्नुभएका कृषक दाहालले हाल दुई सय वटा बोयर जातको बाख्रा पाल्नुभएको छ । तीन किमि टाढासम्म कतै बस्ती नभएको एकान्त ठाउँमा फार्म सुरु गर्दा सबैले केटो बहुलायो, तिम्रा ज्वाइ, भिनाजु बहुलाए, मानसिक अस्पताल लानु भनेर होच्याएका थिए । “तर तिनैले आज तारिफ गरेको सुन्दा आनन्द लाग्छ ।” उहाँले भन्नुभयो । सुरुमा २५ हजार लगानी गरेर १० वटा स्थानीय जातको जमुनापारी बाख्रा किनेर ब्यवसाय सुरु गर्नुभएका दाहालसँग हाल एक सय ५० माउ सहित दुई सयभन्दा बढी बोयर जातका बाख्रा छन् ।
विसं २०७५ मा कृषि विकास बैंकबाट रु २५ लाख ऋण लिएर २२ वटा बोयर बाख्रा थप्नुभएका उहाँले हाल वार्षिक रु ५० लाख बराबरको कारोबार गरेर आठदेखि १० लाखसम्म कमाउने गरेको जानकारी दिनुभयो । कृषक दाहालले झापा, सुनसरी, मोरङ, रामेछापलगायत स्थानका संस्था तथा व्यक्तिलाई प्रतिगोटा रु एक लाख ५० हजारदेखि तीन लाख ५० हजारसम्मका खसी, बोका तथा पाठापाठी बेच्ने गरेको जानकारी दिनुभयो । मुक्तिनाथ बैंकबाट लिएको रु ४७ लाख ऋण र आफूसँग भएको रकमसमेत थप गरेर अहिले उहाँले ६७ रोपनी जमिन खरिद गरी पाँच सय माउ बाख्रा पाल्ने तयारी गरिरहेको बताउनुभयोे । विसं २०८२ देखि एग्रो टुरिजमसमेत सञ्चालनमा ल्याउने तयारी गर्नुभएका कृषक दाहालले आफ्नो फर्ममा मासिक रु २० हजार पारिश्रमिक दिएर दुई जनालाई पूर्ण रोजगारी र आठ जनालाई आंशिक रोजगारी दिनुभएको छ ।
“मलाई राज्यबाट केही चाहिँदैन, मेरा बोकाबाख्रा किनिदिए पुग्छ ।” उहाँले भन्नुभयो, “किसानले बजार खोज्न नसक्ने भएकाले बजार व्यवस्थान राज्यले गर्नुपर्छ ।” सरकारले आफ्नो अनुकूलतामा नभएर किसानको अनुकूलतामा अनुदान तथा सहयोगका कार्यक्रम दिनुपर्ने दाहालको सुझाव थियो । “एउटा चाहिएको छ अर्को लैजा भन्छ । पुराना किसानाको समस्या समाधान भएको छैन, सरकार नयाँ किसान प्रोत्साहनको कुरा गर्छ ।” दाहालको गुनासो थियो ।
बाह्र वर्षसम्म रेडियोमा काम गर्नुभएका महालक्ष्मी नगरपालिका–४ चानुवा डाँडाखर्कका ४० वर्षीय लेखनाथ पौडेल छ महिनायता बाख्रा गोठालो भएर बस्नुभएको छ । विसं २०७१ मा पुर्खौली दुईसय रोपनी जमिनमा देवी–गोविन्द कृषि फार्म दर्ता गर्नुभएका उहाँले स्याङ्जाबाट रु। ५० हजारको लगानीमा बोयर बोका ल्याएर व्यवसाय सुरु गर्नुभएको थियो ।
सुरुमा घरमा भएका २० वटा लोकल जातको बाख्राबाट व्यवसाय थालनी गर्नुभएका पौडेलको फर्ममा अहिले २२ वटा शुद्ध बोयर जातको माउसहित ३५ वटा बाख्रा छन् । कामदारको अभावमा गएको छ महिनायता आफ्नो फर्ममा भएका एक सय ५० वटा विभिन्न जातका बाख्रा हटाएर बोयर बाख्रा मात्र राखेको उहाँले जानकारी दिनुभयो ।काम गर्ने मान्छेको अभाव भएपछि विकल्पमा आफ्नो फार्मलाई शुद्ध बोयर बाख्रा उत्पादन केन्द्र बनाएर आफू एक्लैले रेखदेख गर्दै आएको पौडेलले जानकारी दिनुभयो । “काम गर्ने मान्छे पाइँदैन, पाए पनि लामो समय बस्दैनन् ।” उहाँले भन्नुभयो । “त्यसैले सबै जातका बाख्रा हटाएर अहिले बोयर मात्र राखेको छु ।”
विसं २०७६ मा कृषि बिकास बैंकको रु १५ लाख ऋण र उहाँको आफ्नो गरी रु ८० लाख लगानी रहेको उक्त फार्मबाट अहिले देशका विभिन्न भागमा बोयर बाख्रा पठाउने गरिएको छ । दूध छुटाइएका पाठापाठी प्रतिगोटा रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्ममा बेचेर वार्षिक रु २५ लाखसम्मको कारोबारबाट रु १८ देखि रु २० लाखसम्म कमाउने गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँले अहिले रोल्पा, दाङ, नुवाकोट, लमजुङ, चितवनलगायत प्रदेश नं १ का विभिन्न जिल्लाका विभिन्न संस्था र व्यक्तिलाई बोयर बाख्रा बेच्ने गर्नुभएको छ । हालसम्म कमाइएको रकम खर्चेर आफ्नो फार्मलाई प्रदेश नं १ को नमूना बोयर उत्पादन केन्द्रको रुपमा स्थापनामा लागिएको बताउनुहुने पौडेलको आगामी दिनमा वार्षिक रु ५० लाख कमाउने लक्ष्य रहेको छ ।
दाहाल र पौडेल जस्तै बाख्रापालनबाट छथर जोरपाटी गाउँपालिका–४ तेलीया मार्से गाउँका २९ वर्षीय मेघराज खतिवडा आधा दशकमै करोडपति बन्नुभएको छ । विसं २०७१ मा तेलीया कृषि फार्म दर्ता गरेर रु २५ हजारको लगानीमा १० वटा स्थानीय खरी जातको बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँसँग अहिले ७५ बाख्रा छन् । गत वर्ष कृषि विकास बैंकको रु २५ लाख ऋण लगानीमा खतिवडाले लोकल जातका ४५ बाख्रा हटाएर २२ वटा बोयर र उन्नत जातको खरी बाख्रा मात्र राख्नुभएको छ । जातअनुसार एउटा एउटा पाठापाठी, बोका र खसीलाई न्यूनतम रु १५ हजारदेखि दुई लाख ५० हजारसम्ममा बेचेर खतिवडाले वार्षिक रु १३ लाखसम्म कमाउने गरेको उहाँले बताउनुभयो ।
खतिवडाले बाख्राबाट आएको आम्दानीले मोरङ जिल्लामा करिब रु एक करोड बराबरको घरघडेरी र फार्मका लागि गाउँमै ३० रोपनी जमिन जोड्न सफल भएको जानकारी दिनुभयो । नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत उहाँलाई पहिला गाउँलेले होच्याउने गरे पनि अहिले आफ्नो प्रगति देखेर गाउँलेले एक दर्जनभन्दा बढी बाख्रा फर्म सञ्चालनमा ल्याएका छन् भन्नुभयो ।
“पहिला धेरैले पढेर गोठालो भइस् भन्थे, अहिले मरै सिको गरेर सबैले फार्म खोलिरहेका छन् ।” खतिवडाले हाँस्दै भन्नुभयो । पानीको अभावले उक्त सुक्खा क्षेत्रबाट बसाइँसराइ गरेपछि खाली र बाँझो रहेका जमिनमा अहिले बाख्रा फार्म सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । हाल ६० रोपनी जमिनमा फार्म सञ्चालन गरिहनुभएका खतिवडाले मासिक रु १२ हजारका दरले दुई कामदलारका साथै आफ्ना परिवारका दुई जना पनि स्वरोजगार रहेको जानकारी दिनुभयो ।
सरकारले स्थानीय तहमा पशु उपचार सेवाका लागि प्राविधिक पठाएर पनि औषधि नपठाउँदा उक्त सेवा प्रभावविहीन भएर किसान मर्कामा परिरहेको उहाँको गुनासो थियो । औषधि किन्न सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय सरकारसँग योजना समावेशको माग गर्दा पनि बेवास्ता गरिएको खतिवडाको भनाइ थियो । हाल जिल्लामा एक सय ५० बाख्रा फार्म रहेको पशुसेवा कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया