सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन

    images

    सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज साँझ मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । 
      
    बैतडी जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा र कैलाली जिल्लाको प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त हुनुभएको छ । 
     
     यसैगरी कैलालीको प्रदेशसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  
     
     सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । गत माघ २७ गते गठन भएको सुदूरपश्चिम प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम देहायअनुसार नियुक्ति र कार्यविभाजन गरिएको छ ।

    १.कमलबहादुर शाह– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ।
    २.प्रकाशबहादुर देउवा– मन्त्री, भौतिक पूर्वाधार विकास ।
    ३.नरेशकुमार शाही– मन्त्री, आर्थिक मामिला ।
    ४.शिवराज भट्ट– मन्त्री, आन्तरिक मामिला तथा कानून ।
    ५.झपटबहादुर साउद– मन्त्री, सामाजिक विकास ।
    ६.रमेशसिंह धामी– मन्त्री,उद्योग पर्यटन, वन तथा वातावरण ।
    ७.रामेश्वर चौधरी– मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।
    ८.गीतादेवी माल– राज्यमन्त्री,उद्योग, पर्यटन, वन तथा वातावरण ।
    ९.कैलाश चौधरी– राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी । 

    मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि गत माघ २७ गते कांग्रेससहितका सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

    बुधबार १७ साउन २०८० ०९:३७ PM मा प्रकाशित

    प्रतिक्रिया