×

फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनालाई

images

फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गए राति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले समान १-१ गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप १ गोल गर्यो । दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को शानदार जित दिलाए । जितसँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’को उपाधि जितेको छ ।युरोकप विजेता टोली र कोपा अमेरिकाको विजेतासँग फाइनलसिमामा उपाधि भिडन्त हुने गर्दछ ।

अर्जेन्टिना कोपा अमेरिकाको विजेता टोली हो भने इटाली युरोकप विजेता हो । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) र युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) बीच यस प्रतियोगिताको लागि तीन वर्षको सम्झौता भइसकेको छ ।

बिहीबार १९ जेठ २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया