×

बागमती तीर्थयात्रा स्थगित

images

वैशाख शुक्लपक्षमा गरिने बागमती तीर्थयात्रा यस वर्ष पनि स्थगित गरिएको छ । विसं २०७७÷७८ मा भने कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । हाललाई तीर्थ यात्रा स्थागित गरिए पनि वैशाख शुक्लपक्षमै आगमघरका भट्टको स्वास्थ्य अवस्था सुध्रिएमा चलाउन सकिने झिनो आशा भने कायमै रहेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । 

तीर्थयात्राको नेतृत्व गर्नुहुने पशुपतिनाथको आगमघरका भट्ट मदन भट्ट बिरामी पर्नुभएको र यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरुलाई नदिइएकाले यस वर्ष यात्रा स्थागित गर्नुपरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । 

‘ने’ मुनिले सुरु गर्नुभएको विश्वास गरिने बागमती तीर्थ यात्रा बागमती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि २०७४ सम्म बन्द भएको थियो । कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः सुरु भएको हो । तीर्थयात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थ स्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले बागमतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । चालीस वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैल्याउने उद्देश्यसमेत राखिएको थियो । 

मसान सिद्धिको दीक्षा अरुलाई नदिएकाले अहिले यात्रा गर्न नसकिएको कोष सञ्चालक परिषद्का सदस्य एवं धार्मिक कार्यक्रम जात्रा, पर्व मेला एवं स्थानीय सरोकार अनुगमन उपसमितिका संयोजक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला बताउनुहुन्छ । अर्को वर्षका लागि भने दीक्षालगायत प्राविधिक समस्या नआउने गरी अहिलेदेखि नै तयारी गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
 
पशुपति क्षेत्रमा सनातनदेखि सञ्चालन हुँदै आएका केही जात्रा, पर्व एवं धार्मिक कृत्य बन्द भएकामा त्यसको पुनःस्थापनाका लागि पनि संस्कृति संरक्षण महाशाखाले काम गर्ने जानकारी गराइएको छ ।

सोमबार १९ बैशाख २०७९ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया