×

जागिर खाएजसरी होइन्, तीव्र गतिमा काम गर्नुस्- उप–प्रधान एवं गृहमन्त्री रवि लामिछाने

images

 

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् । गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका छन् ।

 उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’ मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव सहित गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । मन्त्री लामिछानेले तिब्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्–‘जागिर खाए जसरी होइन्, हाइ स्पिरिडका साथमा काम गर्नुस् ।’ न्यायमा सवै जनताको पहुँच हुनेपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । ‘राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुनुहोस् । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस्,’ मन्त्री लामिछानेले भनेका थिए ।

सोमबार १८ पुस २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया