×

माओवादीको तीन महिने ‘जनतासँग रूपान्तरण’ अभियान- २०८४ को निर्वाचन लक्षित, प्रचण्ड देशैभर पुग्लान् ? 

images

काठमाडौं । प्रमुख सत्तासाझदार दल नेकपा (माओवादी केन्द्र) ले देशभरका ६ हजार ७ सय ४३ वडाका नागरिकसँग साक्षात्कार गर्ने भएको छ । 

भोलि (शनिबार)बाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान शुरू गर्ने तयारी गरेको माओवादीले तीन महिनासम्म ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडाका जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न नेताहरू परिचालन गरेको हो ।

गत साउन (१७–२१) मा भएको केन्द्रीय समिति बैठकबाटै अभियान चलाउने निर्णयअनुसार १६ भदौदेखि शुरू गर्ने अभियानको सम्पूर्ण तयारी भइसकेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

केन्द्रीय कमिटीको बैठकबाट पारित कार्यतालिकाअनुसार शुरू हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान तीन महिनासम्म चल्ने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

‘पार्टीलाई जनतासँग जोड्ने अभियानअन्र्तगत यो कार्यक्रम तय गरिएको हो’, उनले भने– ‘पछिल्लो समयमा माओवादी पार्टी र जनताबीचको सम्बन्ध टाढिँदै गएको पार्टीले महसुस गरेअनुसार तीन महिने जागरण अभियान चलाउने निर्णय गरेर पार्टीका सबै केन्द्रीय, प्रदेश तथा जिल्लास्तरका नेताहरूलाई भूगोलका गाउँ टोल बस्तीहरूमा पठाएका छौं ।’

सोही कार्यक्रमअन्तर्गत केन्द्रीय समितिका सबै नेताहरू अहिले गाउँ केन्द्रित भइरहेका छन् । शनिबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको औपचारिक उद्घाटन गर्ने प्रवक्ता सापकोटाले बताए ।  

‘शनिबार १ बजे चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको अध्यक्ष प्रचण्डबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ’, उनले भने– ‘हामी जनताका बीचमा नगएको धेरै भइसकेको छ, माओवादी र जनताबीचको टाढिएको जनसम्बन्धलाई पुनर्जाग्रित गर्ने गरी देशभर एकैपटक उद्घाटन गरेर तीन महिनासम्म जनताकै घरदैलोमा रहने गरी हामीले यो अभियान शुरू गर्न लागेका हौं ।’ 

तीन महिने रूपान्तरण अभियानमार्फत् जनताका घरघरमा पुगेर माओवादी सरकारले गरेका राम्रा कामहरूको बारेमा जानकारी गराउने, माओवादी आन्दोलनका उपलब्धिहरूका विषयमा जागरण गराएर त्यसलाई संस्थागत गर्न कार्यकर्ताहरूलाई प्रेरित गर्ने र निराशामा रहेका आम कार्यकर्तामा ऊर्जा थप्ने काम गर्ने माओवादी केन्द्रका सचिव राम कार्कीले बताए ।  

‘माओवादीका एजेन्डा, आन्दोलन र उपलब्धिका बारेमा जनतालाई पुनर्जाग्रित गराउने, माओवादीले गरेका कामको प्रचार गर्ने, सांगठनिक वैचारिक र सैद्धान्तिक हिसाबले पनि माओवादी पार्टीलाई सशक्त बनाउन यो अभियानले विशेष महत्व राख्छ’ –नेता कार्कीले भने ।     

अभियानको विषयमा माओवादीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी गराउने तयारी गरेको बताइएको छ । तीन महिने विशेष रूपान्तरण अभियानका लागि पार्टी पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय ससस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाइएको पार्टी सचिव मातृका यादवले जानकारी दिए । 

साउनमा राजधानीको कमलादीमा बसेको पार्टीको बैठकले केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दै तीन महिना वडामा खटाउने निर्णय गरेको थियो । केन्द्रीय  सदस्यहरूलाई अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्ष रहेको माओवादीमा वडामा जाने नेताहरूको कार्यविभाजनसमेत भइसकेको छ । 

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी अभियानका अवधिमा देशका सातै प्रदेशका एक–एक वडामा खटिने कार्यक्रम तय भएको छ । 

वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा खटिनुहुनेछ । उपाध्यक्ष अग्नि सापकोटा लिशंकु पाखर गाउँपालिका–३ सिन्धुपाल्चोक, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२ मा खटिने कार्यविभाजन भएको छ । 

यसैगरी महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुन कामनपा–१६, जनार्दन शर्मा चन्द्रागिरि–२, मात्रिका यादव वीरेन्द्र नगरपालिका–१ सुर्खेतमा खटिनेछन् । 

त्यस्तै, सचिवमा डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, हितराज पाण्डे पालुङटार–६ गोरखा, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका–१८ मा खटिने भएका छन् । 

देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, गणेश साह काठमाडौं महानगरपालिका–१०, सुरेन्द्र कार्की बुद्धशान्ति–४ झापा र बागलुङ नगरपालिका–१२, श्रीराम ढकाल चन्द्रागिरि–२ मा खटिने गरी कार्यविभाजन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

बाँकी पदाधिकारी, सदस्य, जनवर्गीय संगठन, प्रदेश तथा जिल्ला–क्षेत्रका सबै नेताहरू जनतामा माझमा गएर जनताका दुःख–सुख, समस्या, अवस्था र आवश्यक्ताका बारेमा मिहिन ढंगले बुझ्ने र पार्टी केन्द्रमा सोहीअनुसार प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी तोकिएको छ । 

यो अभियानपछि ग्रामीण समुदायका नागरिकको वास्तविक अवस्था बुझ्ने र पार्टीलाई सोहीअनुसारका कार्ययोजनाहरू निर्माण गर्न सहयोग पुग्ने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले यो अभियानसँगै आगामी निर्वाचान २०८४ लाई पनि लक्षित गरेको बताइएको छ । विगतका निर्वाचनमा पार्टीको लजास्पद हारले माओवादी केन्द्रलाई धक्का पुगेको भन्दै यो अभियानले केहीहदसम्म राहत मिल्ने नेताहरूको अपेक्षा छ । 

शुक्रबार​ १५ भदौ २०८० ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया