सुदूरपश्चिमेली महिलाको महान् पर्व गौरापर्व आजदेखि आरम्भ भएको छ । सुदूरपश्चिममा हिन्दू नारीले हरेक वर्ष गौरापर्वलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् । हरेक वर्ष भाद्र कृष्ण पञ्चमी तथा भाद्र शुक्ल पञ्चमीदेखि सो पर्व औपचारिकरूपमा सुरुआत हुने गर्दछ । भाद्र कृष्ण पक्षमा हुने गौरालाई अनारी गौरा र भाद्र शुक्ल पक्षमा मनाइने गौरालाई उजेली गौरा भन्ने गरिन्छ ।
भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ । विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
आजका दिन अर्थात् बिरुडा पञ्चमीका दिन विवाहिता महिला व्रत बसी बिरुडा ९पाँच प्रकारका गेडागुडीहरु० तामाको भाडामा भिजाउने चलन छ । गौरापर्वको पहिलो दिन अर्थात् बिरुडा पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीलाई बिरुडा भनिन्छ ।
बिरुडा पञ्चमीका दिन गुराँस, गहत, गहुँ, केराउ र मास गरी पाँच प्रकारका गेडागुडी भिजाउने चलन रहिआएको छ । षष्ठी तिथिका दिन पञ्चमीको दिन भिजाएको बिरुडा धुने चलन छ, सप्तमी तिथिका दिन गौरा देवीको प्रतिमा बनाएर महिलाले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने चलन छ ।
कृष्ण जन्माष्टमीका दिन गौरा मनाइने घर अर्थात् थलोमा महिलाले गौराको गीत गाउँदै सुदूरपश्चिमेलीहरूको भाका डेउडा खेल धुमधामका साथ खेल्ने गरिन्छ । देशकै राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनको भूमिमा पनि विभिन्न गाउँ गर्खाबाट गौरा मनाउनेहरुको घुइँचो लाग्ने गर्दछ ।
भाद्र अष्टमीका दिनसम्म गौरा मनाएर त्यसको भोलिपल्ट साइतअनुसार फरक–फरक दिन गौरा विसर्जन गर्ने गरिएको मालिकार्जुन मन्दिरका मुखिया धिर्कसिंह धामीले बताउनुभयो । गौरापर्वमा वर्षभरिमा गरिने आज पञ्च दलहन ९बिरुडा० भिजाउँदै विधिवत रुपमा सुदूरपश्चिमेली महिलाहरुको महान् पर्व आरम्भ हुने मान्यता छ ।
यस वर्षको गौरापर्व यही भदौ १८ गते मनाइँदैछ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास रहँदै आएको छ । आज बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर भोलि शुक्ल षष्ठीका दिन व्रत उपासेका महिलाले धारोमा लगेर सामूहिकरूपमा पञ्च बिरुडा धुने गर्दछन् । भदौ १८ गते दुर्गा अष्टमीका दिन भिजाएर धोएको बिरुडा गौरा हुने स्थान मन्दिरमा चढाएर आफ्ना आफन्तबाट पञ्च बिरुडाले शिरदेखि पाउसम्म पुज्ने चलन छ । गौराको दिन पञ्च बिरुडाका साथै विभिन्न किसिमका फलफूल मन्दिरमा चढाएर आफन्त इष्टमित्रलाई बाँड्ने चलन छ ।
पञ्चमीका दिन भिजाएका बिरुडा केही मात्रामा गौराका दिन मन्दिरमा चढाएपश्चात घरमा रहेको बाँकी बिरुडालाई पकाएर बाँडीचुडी खाने गर्दछन् । बिरुडा पञ्चमीलाई सुदूरपश्चिम अर्थात् दार्चुलामा पनि हर्षोउल्लासका साथ मनाउने गरेका छन् ।
प्रतिक्रिया