×

नयाँ पुस्ताको बौद्धिकस्तर विकासमा पुस्तकालय महत्त्वपूर्ण : नारायणमान बिजुक्छेँ

images

भक्तपुर, १५ भदौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नयाँ पुस्ताको बौद्धिकस्तर विकासमा पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘समाज विकासमा पुस्तकालयको भूमिका’ विषयक कार्यक्रममा उहाँले नगरभित्रका सामुदायिक पुस्तकालयको स्तरोन्नतितर्फ नगरपालिकाले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

 पुस्तकालयले पाठकबीच समयसान्दर्भिक छलफल र अन्तरक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले पूँजीवादी समाजमा समाजवादी विचार प्रवाहमा पनि पुस्तकालयको उल्लेखनीय भूमिका खेल्ने चर्चा गर्नुभयो । अन्तर्राष्ट्रियस्तर र नेपालका पुराना पुस्तकालयका विशेषताबारे चर्चा गर्दै उहाँले पाठकको विश्वास जित्नु नै पुस्तकालय स्थापना र सञ्चालनको सफलता भएको औंल्याउनुभयो । 

 वडागतरूपमा फरकफरक विशेषतायुक्त पुस्तकालयको व्यवस्था हुनुपर्नेमा बताउँदै उहाँले पुस्तकालयकर्मी अध्ययनशील र नयाँनयाँ पुस्तकबारे जानकार हुनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा अध्यक्ष बिजुक्छेँले पुस्तकालयको अवलोकनसमेत गर्नुभयो ।
    
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनज्योति पुस्तकालय ई–लाइब्रेरीको रुपमा सञ्चालन भएसँगै भक्तपुरमा अध्ययनरत विद्यार्थीलाई अध्ययनको निम्ति काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

विद्यार्थीको पठन संस्कृतिको विकासको लागि पुस्तकालय निर्माण, आर्थिक सहयोग र व्यवस्थापनमा नपाले जोड दिँदै आएको छ भन्दै उहाँले सामान्य नागरिकलाई महान् बनाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताउनुभयो ।
    
    कार्यक्रममा नपाकी उपप्रमुख रजनी जोशीले पुस्तकालय समाजको ऐना भएको र यसले नागरिकको बौद्धिकस्तर उकास्न सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा अधिकृत भूपाल मुलले यस पुस्तकालयको अवस्था, यहाँको बौद्धिक सिकाइ र यसले प्रदान गरेको सेवाबारेमा जानकारी गराउनुभएको थियो । जनज्योति पुस्तकालयमा हालसम्म एक हजार ४९० जना सदस्य रहेको र पुस्तकालयको पुस्तक तथा पत्रपत्रिकाको प्रयोग गर्ने पाठकको सङ्ख्या १० हजार आठ सय ४६ जना रहेको जानकारी दिनुभयो ।

शुक्रबार​ १५ भदौ २०८० ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया