×

पूर्वप्रधानमन्त्री नेपालको बयान सिआईबीले लिएसँगै प्रधानमन्त्री प्रचण्ड तानावमुक्त भएकै हुन् ?

images

काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा तानिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको वयान सिआईबीले लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमुक्त भएको बताएका छन् । 

पोखरामा समाजवादी मोर्चाको आयोजित सन्देश सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । सभामा उपस्थित नेपालसामु उनले नेपाल प्रहरीको अनुसन्धान ब्यरो (सिआईबी)ले बयान लिइसकेकोले आफू तनावमुक्त भएको बताए । 

‘माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखे’ प्रचण्डले भने– ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’ 

नेपालले सिआईबीलाई दिएको वयानसँगै उनी सावित अर्थात् निर्दोष भएको उनले दाबी गरे । सिआईबीले उनलाई लिखित रूपमै निर्दोष भएको जानकारी दिइसकेकोले अब मुद्दा चलाउन नपर्ने बताए । 

यससँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको भन्दै उनले भने– ‘अब त्यो स्थिति रहेन ।’ 

सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी जेल गइरहेका र निर्दोषहरू निर्दोष साबित भएको दाबी गरे । प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियानका क्रममा प्र्रधानमन्त्री देखिए पनि नछोड्नु भनेको कुरा पनि उक्त सभामा स्मरण गरे । 

उनले भने– ‘दोषी छ भने जोसुकै होस्, माओवादी होस् वा कांग्रेस होस् अथवा एमाले किन नहोस् निर्दोष कोही नपरुन्, दोषी नछुटोस् भन्ने मान्यता रहेको छ । 

माधवकुमार नेपाललाई सिआईबीले यहीँ भदौ ४ गते बिहान वयान लिएको थियो । उनीसँगै अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि सिआईबीले भदौ ३ गते साँझ वयान लिएको थियो । 

प्रधानमन्त्री प्रचण्डले गरेको दाबी सत्य भएको विश्लेषक सुन्दमणि दीक्षित बताउँछन् । प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपाल वर्तमान सन्दर्भमा मात्रै नभएर सशस्त्रद्वन्द ताका नै गहिरो सम्बन्धमा रहेको उनले स्मरण गरे । 

दीक्षितले भने– ‘प्रचण्ड र माधवजी पहिलेकै दोस्ती हुन् । उहाँहरू १० वर्षे सशस्त्र द्वन्द्व ताका नै एकआपसमा राम्रो सम्बन्ध कायम भएका नेता हुनुहुन्थ्यो । प्रचण्ड शान्ति प्रक्रियामा आएसँगै उहाँहरूको सम्बन्धमा झन् निकटता बढ्यो यसर्थ माधवजीको संकट नै प्रचण्डजीले हुनु अन्यथा होइन ।’

पछिल्लो चरणमा प्रचण्ड नेतृत्वको सरकारले शुरू गरेको भ्रष्टाचार मुक्त समाज निर्माणको अभियानमा ललिता निवासको फाइल खोलिएको छ । फाइल खोलेसँगै सिआईबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको वयानसमेत लिइसकेको छ । यद्यपि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने नेपाल निर्दोष होलान् । 

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर समाजवादी मोर्चा गठन भएको छ । मोर्चाले देशका सातैवटा प्रदेशमा सन्देशसभा गर्ने भएको छ । जसअनुसार बुटवल र पोखरामा उक्त सभा गरिसकेको छ ।

शुक्रबार​ १५ भदौ २०८० ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया