×

स्वर्णमय बन्यो गोकर्णेश्वर महादेव मन्दिरको छाना

images

दैनिक बालयन्त्रको पूजा आराधना हुने राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुनको लेप लगाउने कार्य सम्पन्न गरिएको छ । छानामा सुनको लेप लगाउने काम गर्दा मन्दिरको पूजा आराधनामा कमी, कमजोरी वा त्रुटि भएको भए क्षमा पाउँ भनी आज क्षमा पूजा सुरु गरिएको छ । क्षमा पूजाका क्रममा १८ वटै पुराणको वाचन गरिने मन्दिरको छाना निर्माण समितिले जनाएको छ । 
 
कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सांसद कृष्णबहादुर राईले धार्मिक कार्यमा जुट्ने गरेको सहभागितालाई धार्मिक पर्यटन प्रवद्र्धनमा पनि उपयोग गरिनुपर्ने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले मन्दिर क्षेत्रलाई उत्तरगया धामसम्म आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
 
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले मन्दिर क्षेत्रमा थप विकासका लागि सहयोग निरन्तर जारी रहने बताउनुभयो । पूर्वप्रमुख सन्तोष चालिसेले मन्दिरकै नामबाट नगरपालिकाको नामकरण भएकाले रु छ करोड ५० छानामा सुनको लेप लगाउन सहयोग गरिएको बताउनुभयो । 

छानामा सुनको लेपसँगै धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक काम गर्ने वडा नं ४ का अध्यक्ष जयराम महतले बताउनुभयो । छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले छानामा सुनको लेप लगाउन १५ किलो सुनसहित करिब रु १८ करोड खर्च भएको जानकारी दिनुभयो ।

बुधबार १८ जेठ २०७९ ११:१९ PM मा प्रकाशित

प्रतिक्रिया