×

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो पार्टी भएर खडा हुँदैछ -रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा स्वर्णिम र रमेशलाई हराउने कल्पना यो देशले गर्न नसक्ने बताएका हुन् ।

‘यस उपनिर्वाचनमा तपाईँहरुलाई यो मुलुकका लागि पनि हार्ने छुट छैन । मलाई लाग्छ स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन । रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, गर्न हुँदैन,’– उनले भने ।

साथै, स्वर्णिम र रमेश कुनै राजनीतिक स्वार्थले रास्वपामा नआएको उनको दाबी छ । उनीहरुलाई राजनीतिबाट कमाउने रोटी सेक्ने कुनै आशा नरहेको लामिछानेले बताए । स्वर्णिम र रमेशले यो समाजलाई दिएको योगदानका कारण पनि कमाउन पर्ने चिज सबै पाइसकेको लामिछानेले बताए ।

‘राजनीतिक स्वार्थ र रोटी सेक्नका लागि उहाँहरु आउनु भएको होइन । केही कमाउनका लागि आउनु भएको होइन । किन की यी दुई व्यक्तित्वले समाजमा दिएको योगदानले उहाँहरुले कमाउन पर्ने चिज सबै कमाइसक्नु भएको छ,’– लामिछानेले भने ।

सभापति लामिछानेले अगाडि भने– ‘अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ ।

म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ ।  यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’ 

उनले डा.स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको यो प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र    भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरे । 

उनले रास्वपाले २ तिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने  व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताए ।

शनिबार १८ चैत २०७९ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया