×

ट्राफिक प्रहरीको ‘अन द स्पट’ सचेतना -- ६ सय ८२ चालक सहभागि

images

 
काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमै सहभागि भएर ट्राफिक नियम सचेतना कार्यक्रम सुरु गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमवारबाट सचेतना कार्यक्रम गरेको हो । सवारी चालकलाई ट्राफिक कार्यालयमा सहभागि गराएर सचेतना दिँदा समय अभाव हुने भएको हुँदै सडकमै पुगेर दिइएको कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

उनले भने,‘ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्येनजर गरी ‘अन द स्पट’ चेतनामूलक कार्यक्रम गरिएको हो ।’
कार्यालयका अनुसार कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने  धनजनको क्षतिका विषयमा जानकारी गराइएको छ ।  त्यस्तै, तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको छ ।

हालसम्म  ६ सय ८२ चालक सचेतना कार्यक्रममा सहभागी भएको कार्यालयको भनाई छ । कार्यालयका अनुसार हालसम्म नयाँबसपार्क क्षेत्रमा एक सय ५०, बौद्दमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०÷५०, कपनमा ३०, बुढानिलकण्ठमा २५,  कीर्तिपुरमा २२, काँडाघारीमा ९, थानकोटमा ३ र भैंसेपाटी क्षेत्रमा २ चलकलाई सचेतना दिइएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न अभियान नै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले बताए ।
 

बुधबार १७ फागुन २०७९ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया