×

सन्दीप आजै यूएई जाने

images

काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो । सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए। 

विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो । आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिनेछ। 

क्यानले यसअघि नै आइसीसी विश्वकप लिग २ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो। क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ। कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन।

 नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् ।

तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो ।

नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ । 

बुधबार १७ फागुन २०७९ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया