काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मिलानले समाजवादी मोर्चा गठन भएको छ ।
मोर्चा गठनको झन्डै डेढ महिना पूरापूर भइसकेको छ । यस अवधिमा मोर्चाले आफ्ना रणनीतिक एवम् सांगठानिक योजना यसअघि नै साझा गरिसकेको छ । उसले देशका सातैवटा प्रदेशमा समाजवादी मोर्चा गठन, संगठन विस्तार, सरकारमा भैपरी आउने समस्याको समाधानगायतका विषयमा निर्णय गरेको मोर्चामा आवद्ध दल तथा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
मोर्चाले गरेका यी निर्णयसँगै भदौ १२ मा बुटवलमा उसले सन्देशसभा गरेको छ । त्यस्तै सुदूरपश्चिममा बुधबार आयोजना गरिएको सन्देशसभा स्थगित भएको छ । बहुचर्चित तथा विवादास्पद अमेरिकी सहायता परियोजना (एमसीसी) कार्यान्वयनका लागि मोर्चाका शीर्ष नेताहरू व्यस्त रहेकोले उक्त सभा स्थगित भएको माओवादी केन्द्र सुदूरपश्चिमका नेता खगराज भट्टले बताए ।
२०७८ फागुन १५ मा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सोही परियोजना संसद्बाट पारित गरेको थियो । यद्यपि त्यसको तीन वर्ष बित्दा पनि कार्यान्वनमा आउन सकेको थिएन । परियोजना पारित गरिनुहुन्न् भन्ने चौतर्फी विरोध हुँदा पनि देउवा सरकारले संसद्बाट पारित गरेको थियो ।
एमसीसी संसद्बाट पारित भएको झन्डै १९ महिनापछि कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयद्वारा आयोजितक एक समारोहबीच अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसी कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदान–प्रदान गरेसँगै कार्यान्वयनमा आएको छ ।
यद्यपि प्रचण्ड नेतृत्वको सरकारले परियोजना कार्यान्वयनमा नआउँदै एमसीएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिसकेको छ ।
विद्युत् प्रसारण आयोजनातर्फ आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ एक अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्यांकनतर्फ २१ लाख ९३ हजार, कार्यक्रम प्रशासनतर्फ ५५ करोड ५४ लाख ८८ हजार बराबर बजेट विनियोजन गरिएको छ ।
विवादास्पद यो परियोजना कार्यान्वयनमा ल्याउनु हुँदैन भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशैभरि विरोध गर्यो । त्यस्तै संसद् भित्रका दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा (राजमो) लगायत संसद् बाहिरका साना कम्युनिस्ट पार्टीहरूले पनि विरोध गरे ।
तथापि विरोधका बावजुद एमसीसी कार्यान्वयनमा आएको छ । समाजवादी मोर्चाको हकमा भने नेकपा महासचिव विप्लवले विरोध गर्दै आएका थिए । उनले कुनै हालतमा परियोजनालाई नेपालमा लागू गर्न नहुने अडान राखेका थिए भने कार्यान्वयनका लागि पनि नेपाल अग्रहसर हुन नहुने बताउँदै आएका थिए ।
अन्ततः एमसीसी कार्यान्वयनमा आएपछि विप्लव रुष्ट बनेका छन् । उनले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै कार्यान्वयन गर्नहुँदैन भन्ने सुझाव दिएका थिए । तर, प्रचण्डले संसद्बाट पारित भइसकेको परियोजनालाई अब रोक्न नसक्ने जवाफ दिएका थिए ।
उनको जवाफ सुनेर विप्लव निकै रुष्ट बनेको स्रोत बताउँछ । यदि एमसीसी कार्यान्वयनमा लैजाने हो भने मोर्चामा रहन नसक्ने समेतको चेतावनी दिएको स्रोतको दाबी छ । विप्लवले यसो भनेपछि प्रचण्डले आजभोलि उनलाई आफूनिकट नेताको माध्यमबाट मोर्चाबाट नबाहिरिन आग्रह गरेका छन् ।
विप्लव मोर्चाको अभिन्न अंग भएकोले नेकपा बाहिरिए आफूलाई क्षति हुने भन्दै प्रचण्डले विप्लवलाई मोर्चामा रहन निटकस्थको माध्यमबाट फकाउँदै आएको स्रोत बताउँछ । स्रोतका अनुसार विप्लवका स्कुले गुरु एवम् प्रचण्डनिकट पार्टी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराको माध्यमबाट फकाउँदै आएका छन् ।
महराले उनलाई मोर्चाबाट बाहिरिनु उपयुक्त नहुने भन्दै सुल्झाइ रहेका छन् । तर, विप्लवले आजसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बरू उनले शुक्रबारका लागि स्थायी समिति बैठक आह्वान गरेका छन् । बैठकमा मोर्चामा रहने वा नरहने निक्र्यौल हुने बताइएको छ ।
मोर्चामा आवद्ध अर्को दल एकीकृत समाजवादी र जसपाले भने यस विषयमा खासै चासो नदिएको बुझिएको छ । यी दुई दलले विप्लवसँग भेटवार्ता, टेलिफोन संवादसमेत गरेका छैनन् ।
दुवै दलका केही नेताले दिएको जानकारी अनुसार विप्लव मोर्चाबाट तत्काल बाहिरिने सम्भावना छैन । यसर्थ उनीसँग एकीकृत समाजवादी र जसपाले वास्ता नगरेको हो ।
प्रतिक्रिया