×

तीजमा कुन मन्दिर जाने !

images

हरितालिका तीजमा ब्रत बसेर महादेवका मन्दिरमा पूजाआराधाना गर्ने प्रचलन हिन्दु नारीहरुमा प्रचलित छ । शिवजीलाई खुशी पार्न सके चिताएको पुरा हुने विश्वासका साथ निराहार ब्रत बसेर पुजाआराधना गर्ने प्रचलन छ । नेपालमा तीजकै अवसरमा भीडाभाड हुने मन्दिरहरु दर्जनौं छन् । पुराना र चर्चित शिवालयहरुमा धेरैजसो महिलाहरुको भिड लाग्ने गर्छ । देशभरका मुख्य मुख्य स्थानमा चर्चित शिवालयहरु छन् । धार्मिक पर्यटनको गन्तव्य स्थलका रुपमा यी चर्चित शिवालयहरु सबैको रोजाइमा पर्ने गर्छ । 

पशुपतिनाथ: 

तीजका अवसरमा ब्रत बसेर पशुपतिनाथ दर्शन गर्ने नारीहरुको संख्या सबैभन्दा धेरै हुने गर्छ । पशुपतिनाथ धार्मिक हिसाबले महत्वपूर्ण र ठूलो शक्तिपिठका रुपमालिने गरिन्छ । ऐतिहासिक प्राचिनतम मन्दिर भएकाले सबै समुदायका मानिसहरुले पशुपतिनाथलाई समान आस्था र श्रद्धाका रुपमा हेर्ने गर्छन । यहाँ तीजकै लागी भनेर चारैतिरका ढोकाबाट दर्शनका लागी प्रबन्ध मिलाउने गरिन्छ । हरितालिका तीजको बर्त बसेर विहानै पशुपतिनाथमा गएर दर्शन गर्ने प्रचलन छ ।

हलेसी महादेव: 

खोटाङ जिल्लामा रहेको हलेसी महादेवको मन्दिर पूर्वाञ्चलको चर्चित धार्मिक स्थल हो । यहाँ हरितालिका तीजका बेला हिन्दु महिलाहरुको अत्याधिक भिड लाग्ने गर्छ । सदरमुकाम दिक्तेल देखि नौं कोष पश्चिममा रहेको हलेसी ४ हजार ७ सय ३६ मिटर उचाइमा रहेको छ । यो मन्दिरमा अनौठो प्राकृतिक आकारको शिला साथै वसाहा र भैरवका गुफाहरु पनि रहेका छन् । बौद्ध तथा हिन्दु र किराँतहरुले हलेसी महादेवलाई विशेष पुजाआरधना गर्ने गर्छन । लामिडाँड विमान स्थल मार्फत वा पूर्व–पश्चिम राजमार्गको मिर्चैया–कटारी हुँदै हलेसी पुग्न सकिन्छ । पूर्वको पशुपतिनाथ मानिएको हलेसीमा तीजका अवसरमा पुजा आरधना गर्न धेरै भक्तजनहरुको भीड लाग्ने गर्छ । 

कुशेश्वर: 

सिन्धुली सदरमुकामबाट उत्तर–पश्चिममा रहेको कुशेश्वर महादेव तीजपर्वका अवसरमा भिडभाड हुने गर्दछ । सुनकोशी र रोशीको खोलाको दोभानमा अवस्थित यो मन्दिर काठमाडौंबाट ८३ किलोमिटर टाडा रहेको छ । विश्वभर छरिहएर रहेका ६४ शिवलिङ्गमध्ये आदि लिङ्गकुशेश्वर रहेको विश्वास रहेको पाइन्छ । यस मन्दिरलाई हिन्दु नारीहरुले विशेष धार्मिक गन्तव्य स्थलमा रुपमालिने गर्छन र हरितालिका चाडका अवसरमाविशेष पुजाआरधनागर्ने गर्छन । 

गोकर्णेश्वरः 

काठमाडौं भित्रै पर्ने पशुपतिनाथ पछिको चर्चित धार्मिक स्थल गोकर्णको गोकर्णेश्वर मन्दिरमा पनि तीजका बेला महिलाहरुको विशेष भीड लाग्ने गर्छ । काठमाडौंबाट करिब २०किलोमिटर टाढा रहेको गोकर्णेश्वर वागमतीको किनारमै रहेको छ । यहाँपुग्न साँखु जाने सडक अर्थात सुन्दरीजल जाने बाटो भएर पुग्न सकिन्छ । शिवजीका ६४ शिवलिङ्गमध्ये यहाँ एक लिङ्ग रहेको विश्वास लिइन्छ । यहाँ तीजका वेला हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बीहरुको उत्तिकै भीड लाग्ने गर्छ । 

जलेश्वर: 

नेपालको तराई क्षेत्रमा प्रसिद्ध जलेश्वरमा तीजका अवसरमा भिडभाड हुने गर्दछ । महोत्त्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरको मन्दिर तराई प्रसिद्ध शिवालय हो । बाह्रै मास पानी उम्रिरहने मन्दिर भित्रको शिवलिङ्गको दर्शन गर्नका लागि यो मन्दिरमा भिड लाग्ने गर्दछ । तीजका बेला यो मन्दिरमा तराइ क्षेत्रका दर्जन जिल्लाका भक्तजनहरु पुग्ने गर्दछन् । 

कुम्भेश्वर: 

ललितपुरको प्रख्यात कुम्भेश्वर मन्दिर पनितीजको उचित गन्तव्य स्थल हो । हरितालिका तीजका अवसरमा ब्रत बसेका महिलाहरु कुम्भेश्वरमा गएर पुजाआरधाना गर्ने गर्छन । नेपालका दुई पाँचतले मन्दिर मध्ये कुम्भेश्वर एक हो । यहाँको पोखरीमा रहेको पानी गोसाइकुण्डको पानी हो भन्ने विश्वास गरिन्छ । यहाँ तीज पर्वका अवसरमा विशेष भिड लाग्ने गर्दछ । 

कैलाशनाथ महादेव: 

भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको कैलाशनाथ महादेवको मन्दिर पनि तीजको प्रमुख गन्तव्य हो । १ सय ४३ फिटको शिवको मुर्ति रहेको उक्त स्थानमा तीजको बेला विशेष भिड लाग्ने गर्छ । अरनिको राजमार्ग हुँदै पुग्न सकिने कैलाशनाथलाई काभ्रेको साँगामा पर्दछ । यही मन्दिरबाट ६ किलोमिटर हिडेर पुगिने आसापुरी महादेवको मन्दिर पनि चर्चित मानिन्छ । 

रजश्वलाको पापबाट मुक्तीदिने मन्दिर :

हिन्दु नारीहरुले ऋषिपञ्चमीको दिनलाई तीजपर्वको अन्तिमदिन मानिन्छ । तीजका अघिल्ला दिनमा अन्यमन्दिरमा गएर पुजागर्ने नारीहरु ऋषिपञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पुग्ने गर्छन । काठमाडौंको टेकुमा रहेको ऐतिहासिक ऋषेश्वर मन्दिरमा पुगेर पुजाआरधना गर्दा रजश्वला हुँदा जानीनजानी गरिएका गल्तीहरुको पाप पखाल्न यो मन्दिरमा पुग्ने गरेको बाल्मिकी क्याम्पसका प्राध्यापक लक्ष्मीप्रसाद बराल बताउछन् । मैले जानीनजानी रजश्वला भएका बेलामा छोइछिटो गरिएको साथै  सम्पर्कजन्य दोषबाट मुक्तीदिलाउन भनी ऋषिपञ्चमीको ब्रत बसेकाहरु यही मन्दिरमा पुगेर दर्शन गरे पापमुक्तहुने विश्वास रहेको प्राध्यापक बरालले जानकारी दिए । यो मन्दिरमा विवाहिता हरुले चुरा धागो, सिन्दुर, पोते चढाउने गर्दछन् । 

दतिउनले दाँत माझने प्रचलन :

हिन्दु नारीहरुले ऋषिपञ्चमीलाई विशेष चाडका रुपमालिन गर्छन । नौ जना ऋषिहरुको पुजा गरिने यस दिन महिलाहरुले जंगलमा पाइने दतिउनलाई विशेष प्रयोग गर्ने गर्छन । दतिउन एक प्रकारको जडीबुटी पनि हो । बर्तालु महिलाहरु सबेरै नदी किनारमा गइ हलोमा टाँसिएको माटो, कमल कोठीको माटो, जौं, तिल र कुश आदिको प्रयोग गरी नुहाएर दतिउन टोक्ने वा दाँत माझने प्रचलन रहेको जानकार विमला शर्माले जानकारी दिइन । शर्मा का अनुसार दतिउनको दुई तिर आँख्ला भएका २१ टुक्राका दरले २१ मुठा टोक्ने प्रचलन छ । कसैद कसैले ३ सय ६५ टुक्रा दतिउन टोक्ने वा दाँत माझेर नदी मा बगाउने गर्छन । त्यसपछि गहुँतले चोखिएर नौ ऋषिको पुजा गरी नाच गान गर्ने चलन छ । यसले रजस्वला हुँदा भएको पापबाट मुक्तिहुने विश्वास गरिन्छ । 

मङ्गलबार १४ भदौ २०७९ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया