मलेखु (धादिङ), ११ भदौ : एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् ।
गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ ।
अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । साउन महिनामा मात्रै १० लाख बढी भक्तजनले नरसिंह धामको दर्शन गरेका छन् । नरसिंह धाम विकास संरक्षण मूल समितिका अध्यक्ष फणिकान्त छत्कुली भन्नुहुन्छ–‘‘साउन महिनाको सुरुवातदेखि एक महिने विशेष मेला आयोजना गरियो । त्यसपछि देशका कुनाकाप्चा र भारतबाट पनि भक्तजन आउन थाले ।’’ हिजोआज दैनिक सयौं भक्तजन धाममा पुग्छन् । बिदाको दिन त सानाठूला गरी दुई सय सवारी त्यहाँ पुग्ने गरेको उहाँको भनाइ छ ।
धाममा जाने भक्तजन बुढीगण्डकी र नेत्रावतीको दोभानमा नुहाउँछन् र नरसिंहको अवतारमा पूजापाठ गरी भेटी चढाएर फर्किन्छन् । धेरै भीड भएको दिन चार लाख रुपैयाँसम्म भेटी सङ्कलन भएको अध्यक्ष छत्कुलीले बताउनुभयो । उहाँका अनुसार त्यही भेटीबाट केही खर्च छुट्याएर धाममा पुग्ने भक्तजनलाई प्रसादीको रुपमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ ।
यस धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो । शास्त्रीय प्रमाणका आधारमा पं. मोहन लामिछाने स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गर्नुभयो । २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला प¥यो । त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुङ्गा, इँटा र सिक्काहरू भेटिएको थियो । सल्यानटारको तल्लो क्षेत्र सबै बालुवा र ढुङ्गाको डाँडो जस्तो छ । तर यस ठाउँमा भने सात÷आठ फिट गहिरो खन्दा चिम्ट्याइलो रातो माटो र इँटाका अवशेष भेटिन्छन् ।
विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ ।
प्रतिक्रिया