लेखसार
पाटनको मात्र होइन नेपाल कै महत्वपूर्ण जात्रा संस्कृतिको एक अनुपम उदाहरण रातो मछिन्द्रनाथको रथजात्रा हो । यो जात्राको शुरु बुंगमतीबाट भइ जावलाखेलमा आएर अन्त हुने परम्परा छ । नेपाली जनमानसमा हरेकको मनमस्तिष्कमा मछिन्द्रनाथ भने पनि अवलोकितेश्वर भने पनि एउटै आराध्यदेव भन्ने अमितछाप परेको छ ।
यसलाई अन्यथा ढंगले ग्रहण गर्ने पक्षमा छैन । यही यथार्थलाई सकार्दासकार्दै पनि दशौ शताव्दी तिरै भोटोजात्रा थप भैसकेको जात्रालाई बाह्रौ शताव्दीमा आएर भारतको कामारुकामाक्षा देखि मछिन्द्रनाथ भित्र्याइएको अमिल्दो कथाको पछि अधिकतर लेखकहरु लागीपरेको देखिनु उचित हो जस्तो लागको छैन । यही विषयलाई लिएर प्रस्तुत आलेख तयार गरिएको छ ।
परिचय
नेपालमा चल्दै आएका लामो जात्रा मध्ये एउटा महत्वपूर्ण जात्रा पाटनको रातो मछिन्द्रनाथको रथजात्रा हो । यो जात्रामा पाटनका विभिन्न जाति वर्ग संलग्न हुने गरेको पाइन्छ । वर्षा र सहकालका देवता मानिएको आर्यावलोकितेश्वर, करुणामय अर्थात् मछिन्द्रनाथ वा मत्स्येन्द्रनाथको रुपमा पनि यो देवतालाई अति आस्था विश्वास एवं सम्मान र आदरपूर्वक सर्वपूज्य आराध्यदेव कहलिंदै आएको छ ।
यीनै रातो मत्स्येन्द्रनाथको रथजात्राको विषयमा लेखिएका लेख रचना पुस्तक ग्रन्थहरु यत्रतत्र अनगिन्ती मात्रामा भेट्टिने गर्छ । ती लेख रचना पुस्तकहरुका लेखक स्वदेशी मात्र होइनन् विदेशी लेखकहरु समेत देखिन्छन् । तर अचम्म यो छकि लेखहरु सरसर्ती पढ्दै जाने हो भने वास्तविक ऐतिहासिक धार जे हुनु पर्ने थियो त्यो भन्दा बाहिर गएर लेखिएको बढी मात्रामा पाइन्छ । यसले पाठकहरु द्विविधामा पर्न जानु स्वाभाविक हो ।
किनकि प्रायः लेखहरुमा मत्स्येन्द्रनाथ कामारुकामाख्याबाट ल्याएको, अर्को भोटो जात्रा दशौं शताव्दीमा गुणकामदेवको पालामा चलेको मछिन्द्रनाथको जात्रा चाहीं बाह्रौ शताव्दीदेखि चलेको र इतिहासमा नरेन्द्रदेवनाम गरेका राजा तीनचार जना छन् ती मध्ये प्रथम नरेन्द्र्रदेव कि तृतीय नरेन्द्रदेव भन्नेमा मतभेद पाइन्छ । वास्तवमा यो नै एक अचम्मको विषय हुन आएको छ ।
कुनै पनि देवताको जात्रा पर्व चल्नु अघि त्यसको उत्पत्ति भएको हुन्छ त्यसपछि त्यसको प्रख्याति बढ्दै आएको हुन्छ । त्यसपछि त्यस देवताको जात्राको चलन चल्ने हुन्छ र त्यसमा थप जात्राहरु थप्दै आउने हुन्छ । त्यसपछि जात्राको तरिकाहरुमा सुधार संशोधनहरु हुन पुग्छ । हाल चल्दै आएको जात्राको किसिम पनि अघिको भन्दा फरक हुन गएको हुनसक्छ । यी सवै कुरा पाटनको रातो मछिन्द्रनाथको जात्रामा पनि छ । यही पक्षको सेरोफेरोमा रही आफनो विचार सहितको लेख यसरी प्रस्तुत गरिन्छ ।
नेपालमण्डल(काठमाडौं उपत्यका) भित्र स्थापित भै रहेका अनेकौं देवीदेवताहरुको उत्पत्ति र प्रख्याति यसैगरि निक्कै प्राचीनता बोकेको पाइन्छ । ती मध्ये कतिपयको उत्पत्तिको कथा उपत्यकाको सभ्यतासंगै जोडिएर आएको पनि देखिन्छन् । ती देवीदेवताको उत्पत्ति र प्रख्याति हज्जारौं वर्ष अघि देखि थियो भने पनि ती देवीदेवताको मन्दिरको निर्माण र त्यसको पूजा एवं जात्रापर्वहरु भने निक्कै पछि परवर्तीकालमा आएर मात्र चलन चल्ती भएको उदाहरणहरु धेरै पाइन्छन् । ती मध्येको एउटा ज्वलन्त उदाहरण बुंगमतीको रातो मत्स्येन्द्रनाथ र यसको रथयात्रा नै मुख्यतः पर्न आएको छ ।
आर्यावलोकितेश्वर भने पनि मत्स्येन्दनाथ भनेपनि नेपाली जनमानसमा वर्षा र सहकालको देवता मानेको छ । यसलाई यो बाहेक मछिन्द्रनाथ,लोकनाथ, लोकेश्वर, करुणामय,,विरञ्चीनारायण,कामरुप, आदि नामले पनि प्रख्यात रहेको छ भने बुंगमतीमा सिद्ध भएर रहेको हुनाले यसलाई बुंगमलोकेश्वर र मुखाकृति रातो भएको कारणले रातो मछिन्द्र अर्थात् मत्स्येन्द्रनाथको नामले पनि यसको प्रख्याति हुंदै आएको पाइन्छ । यीनै मत्स्येन्द्रनाथको महिमा वर्णन गरिएको अनेकौं अनेक हस्तलिखित ग्रन्थ पुस्तक ,चर्या गीत, राग स्तोत्र वंशावली मात्र होइनन् प्रामाणिक स्रोतको रुपमा शिलालेख मूर्तिलेख आदि समेत प्रशस्त मात्रामा उपलव्ध हुंदै आएको पाइन्छ ।
ती मध्येको केही प्रशिद्ध रहेका ग्रन्थ एवं पुस्तकहरु मुख्यतः मत्स्येन्द्र शतकम्,मत्स्येन्द्र पद्य शतकम् ,मत्स्येन्द्रनाथ स्तोत्र,करुणास्तव, अवलोकितश्वरस्तव ,वंशावली आदि यसका मुख्यमुख्य स्रोत रहेका छन् । मत्स्येन्दनाथ बारे लेखिएका आधुनिक प्रेस मुद्रित पुस्तकहरु पनि नपाइने होइनन् तर ती पुस्तकहरुमा वर्णन गरिएका महिमामा भने हस्तलिखितमा लेखिएको भन्दा पृथक देखिएका छन् ।
ती आधुनिक छपाई मुद्रित लेखहरुमा मछिन्द्रनाथ भारतको कामारुकामाख्याबाट ल्याएको र ल्याउनेहरु राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य , ललित ज्यापुलाई मानेको छ । त्यसरी ल्याएको घटना प्रतिविम्वित त्यस जात्रामा पाइन्छ ।यही घटनालाई नै आख्यान कथा बनाइएको छ । तर कथामा अलि अतिरञ्जित बनाइएको छ । किनकि हस्तलिखित प्राचीन ग्रन्थहरुमा हेरियो भने त्यस पं्रकारको कथ्य वर्णन पाइंदैन । ती हस्तलिखित ग्रन्थहरुमा कापोताचल पर्वतमा विराजमान भइरहेका मत्स्येन्द्रनाथ लोकेश्वरलाई पाटन शहरमा ल्याएर जात्रा चलाएको भनेर मात्र वर्णन गरिएको छ । वास्तवमा कापोतल पर्वत भनेको भारतको कामारुकामाख्या पीठ होइन ।
जात्रामा पनि बुंगमतीबाट पाटन शहर ल्याईएको सन्दर्भसंग मात्र जोडिएको देखिन्छ । किनकि जात्राले बुंगमतीमा पाइने वस्तुस्थिति र हस्तलिखित स्रोतमा भनिएको वस्तुस्थितिसंग मात्र तादात्म्यता रहेको पाइन्छ । जस्तो बुंगमतीको कापोतल विनायक कालान्तरमा कार्य विनायक कहलिएको कथ्य पाइन्छ ।
प्रचलित कथ्य अनुसार यही कार्यविनायकको डाँडा मुनिबाट एउटा खोल्सा बगीरहेको देखिन्छ जसलाई कर्णतीर्थ भन्ने गरिन्छ र यसैलाई बुंगमती खोला मानिएको पाइन्छ । कुनै समय यही तिर्थमा साधकहरुले स्नान गरीकन गणेशको नित्य सेवा अर्चना गर्दा उनीहरुको मनोवांछित कार्य सिद्ध भएको हुंदा कापोतल पर्वत ढिस्कोमा सिद्ध भएर रहेको कापोतल विनायकको नाम कार्यविनायक भनेर समेत प्रशिद्ध हुन गएको भन्ने जनश्रुति पाइन्छ ।
यहाँको करुणामय स्थानमा नित्य पाठ गर्ने आर्यतारा बौद्ध स्तोत्रलाई लिने हो भने सिद्धविद्याधर, बोधिसत्व, वीतराग, क्रोधराज,गणेश र हयग्रीव आदि जहाँ विराजमान रहेको छ । सोही स्थानमा सर्वजन हित गर्ने भगवान अवलोकितेश्वर पनि प्रकट हुनुभयो भन्ने कुरा स्तोत्र पाठमा पाइन्छ । यसकोअर्थ कामारुकामाख्यको कुनैसंकेत छैन भन्ने हुन्छ ।यसबाट पनि कापोतल पर्वत अन्यत्र नभइ बुंगमतीलाई नै भनिएको बुझिन्छ ।
त्यस्तै गरि यो ठाउंमा हयग्रीव भैरव,र यो संगै फुलोमाजु रहेको छ । अष्ट वीतराग पद्मपुर महाविहारमा रहेका छ । मछिन्द्रनाथ मन्दिर पछाडि एउटा गल्छँदो खाडल छ जहाँ राँगा बलि दिइ त्यो मासु केवल ककुरलाई मात्र खुवाइन्छ मान्छेले खानु हुंदैन र खाइंदैन भन्ने कथन अद्यापि छ । त्यो भनेको क्रोधराजको प्रतिक हो । यसरी स्तोत्रमा भनिएका सवै देवी देवता बुंगमती मै विराजमान रहेको हुंदा कापोतलमा गई करुणामय लिन गएको कथन बुंगमतीमा गइ लिन गएको हो कामारुकामाख्यमा होइन भन्ने कुरा स्पष्ट हुन्छ ।
ऐतिहासिक विवरण
पं हेमराज शाक्यको भनाइ अनुसार नेपालमा इसापूर्व काल देखि नै आर्यावलोकितेश्वरको प्रख्याति भइसकेको हो । साथै लिच्छविकालका कतिपय अभिलेखहरुमा अवलोकितेश्वरको उल्लेख पनि उहाँको भनाइमा छ । साँचो अर्थमा भन्ने हो भने छैठौ शताव्दीको मध्यतिरको काठमाडौं लगनटोलको आर्यावलोकितेश्वर मूर्तिको पादपीठमा राजा रामदेवको पालामा स्थापना भएको अभिलेख पाउनु, काठमाडौं वण्डाहिटीको अभिलेखमा पनि आर्यावलोकितेश्वरको उल्लेख पाइनु , सातौं शताव्दीको शुरुमा आएर महासामन्त अंशुवर्माले बुंगमतीका गाउंवासीहरुलाई संवोधन गरेर संवत् ५२९ को अभिलेख पाउनु, भनेको यसबाट बुंगमतीमा करुणामयको स्थापना अघि नै भइसकेको हुंदा त्यो स्थानमा गाउंवस्ती विकास भइसकेको बुझिनु हो ।
पाटन चक्रवहिलको संवत् ५३१ को अभिलेख आर्यावलोकितेश्वरको मूर्तिको पादपीठ भनेरै उल्लेख हुनु । पशुपतिको जयदेव द्वितीयको संवत् ६५७ को अभिलेखमा पनि लोकेश्वर करुणाकरको उल्लेख हुनुलाई प्रमाण मान्न सकिन्छ । पाटन यंगवहालमा अवलोकितेश्वरको मूर्ति र त्यसको पादपीठमा संवत् ६८० को अभिलेख नै अंकित पाउनु भनेको यी अभिलेखहरुको आधारमा मछिन्द्रनाथको प्रख्याति लिच्छविकाल मै भइसकेको प्रमाणित हुन्छ ।
अतः १२ औं शताव्दी तिर भारतको कामारुकामाख्य पीठबाट मछिन्द्रनाथ ल्याएको तथा त्यसवेला देखि जात्रा गर्ने चलन चलेको भन्ने यावत् कथा नै मिथ्या प्रतित हुन्छ । अर्को कुरा दशौं शताव्दीमा भोटोजात्राको चलन चलेको आधारमा मछिन्द्रनाथको रथयात्रा भोटो जात्रा भन्दा पछि मान्नु पनि मिथ्या परिकल्पना प्रतित हुन्छ ।
नेपालमा पाइएको सर्व प्राचीन वंशावली गोपालराज वंशावलीमा नरेन्द्रदेव वर्ष ३५,र आचार्य बन्धुदत्त दुइजनाले बुंगमलोकेश्वरको जात्रा चलाए भनेर लेखिएको पाइन्छ । राजा नरेन्द्रदेव सत्तामा आएको संवत् ५६७ देखि शासनको अन्तिम वर्ष ६०३ सम्म ३६ वर्ष देखिएको आधारमा वंशावलीकारले प्रथम नरेन्द्रदेवको पालामा बुंगमलोकेश्वरको जात्रा चलेको कुरा सकारेको बुझिन्छ । मुद्रण भएका कतिपय पुस्तकहरुमा प्रथम नरेन्द्रदेवको पालामा वुंगम लोकेश्वरको जात्रा भएको सकार्ने गरिएको दखिंदैन ।
मनवज्र वज्राचार्यको भनाइ अनुसार आर्यावलोकितेश्वर र मत्स्येन्द्रनाथ एकै व्यक्ति या इश्वर होइनन् भनिएका छन् । वास्तवमा लोकेश्वरको मूर्ति पूजागर्ने परम्परा प्राचीन लिच्छविकालदेखि नै चलेकाले ललितपुरको रातो मत्स्येन्द्रनाथको नाउले प्रसिद्ध भएको लोकेश्वर पनि लिच्छविकालिक मूर्ति नै हुन् । तर मत्स्येन्दनाथलाई १२ औ शताव्दीको भन्ने र ७ औं शताव्दीको राजा नरेन्द्रदेवले कामरुपबाट ल्याएर स्थापना गरियो भन्ने खालका कथ्य बीच भने समानता नभएको कुरा उहाँले पनि युक्तिसंगत भएन भनेर उल्लेख गर्नु भएको छ ।
गोपालराज वंशावलीको कुरा र इतिहासकार ज्ञानमणि नेपाल,जगदीशचन्द्र रेग्मीको भनाइमा समानता पाइन्छ किनकि उहाँहरु पनि मछिन्द्रनाथको रथजात्रा लिच्छविकालमा राजा नरेन्द्रदेवको पाला देखि चलेको हो भन्नेमा विश्वास प्रकट गर्नु भएको पाइन्छ । तर अन्य लेखकहरु यो भनाइमा सहमत देखिंदैन । अर्को कापोतल पर्वत भन्ने भारतको कामारुकामाख्या होइन भन्ने पक्षमा संस्कतिविद् तीर्थलाल नघभनी बाहेक अरु सहमत रहेको देखिंदैन । भनाइको मतलव यो लेखका लेखक पनि नघभनीको भनाइसंग सहमत छ भन्न खाजिएको हो ।
वास्तवमा मुद्रण भएका प्राय सवैजसो पुस्तकहरुमा कपोल कल्पित कथनको पछि लागेर लेखेको घटनालाई बढी जोड दिएर लेखी आएको पाइन्छ । किनभने सालमिति लेख्दा पनि कलिगत ३६७६ भनेर लेख्ने र त्यतिवेला नेपालमा अनावृष्टि भएर १२ वर्ष सम्म दूर्भिक्ष भएकोले राजा नरेन्द्रदेव , आचार्य वन्धुदत्त र ललित ज्यापु कामारु कामाक्ष पीठमा गइ मछिन्द्रनाथ ल्याएको घटना एक आपसमा अन्तरविरोधका कुरा जस्तै छन् । यसमा पत्यारिला कुरा एक प्रतिशत पनि छैन ।
किनभने कलिगत ३६७६ भनेको राजा नरेन्द्रदेवको पाला नै होइन । मछिन्द्रनाथ र आर्यावलोकितेश्वर एउटै भगवान होइन भन्नेमा पनि कुनै आधार छैन । हरेक वर्ष वैशाख कृष्ण प्रतिपदाकोदिन मछिन्द्रनाथलाई स्नान गराइन्छ । यसलाई नेवारी भाषामा न्हवंयायेगु धलिं लुयेगु भन्ने गरिन्छ । यसरी न्हवं गर्दा अन्यत्रको पानी चल्दैन केवल वुंगमतीको न्हवंगाल कुण्डको पानीले मात्र स्नान गराइन्छ । यो चलन किन अद्यापि चलेको हो?
यदि मछिन्द्रनाथ र आर्यावलोकितेश्वर एउटै भगवान होइन भन्नु भन्दा पहिला बुंगमतीलाई वुग किन भनेको , लिच्छविकालमा वुंगमतीलाई अंशुवर्माले पनि बुगायुमी किन भनियो होला, वुंग ग्रामलाई वुंगदे वुंग शहर वुंगदेश र अवलोकितेश्वर मछिन्द्रनाथलाई वुंगद्यः र वुंगमलोकेश्वर किन भनियो होला ? गोपालराज वंशावली मै श्री वुंगमलोकेश्वर किन लेखियो होला? मत्स्येन्द्रनाथकोस्तोत्र मै श्री वुंगम लोकेश्वर किन भनियो होला ? चर्या गीत एवं स्तोत्रहरुमा श्री वुंगेसमहंनमः, वुंगम लोकेश्वर देव किन भनियो होला ? जस्ता अनगिन्ती प्रश्नको जवाफ त्यस कथनमा छैन । यसरी सम्पूर्ण यथार्थ ऐना जस्तै छर्लंग प्रमाणहरु वुंगमतीमा हुंदाहुंदै कामारुकामाक्ष पीठ तिर दौडिन थालियो भने अवश्य दिग्भ्रमित को खाडल तिर जाकिन जाने स्वाभाविक हुन्छ ।
लिच्छविकालमा राजा नरेन्द्रदेव भन्दा अघि नै लोकेश्वर मछिन्द्रनाथको प्रख्याति भइसकेको हुंदाहुंदै कामारुकामाक्ष पीठ गएर कलशमा राखेर ल्याएको जस्ता कथननै अमिल्दो छ । मत्स्येन्द्रनाथको अवधारणा १२ औं शताव्दी देखि मात्र देखापरेको भनिए पछि ७ औ शताव्दीको राजा नरेन्द्रदेवसित यसको सम्वन्ध रहने देखिएन । तव नरेन्द्रदेव द्वितीय र नरेन्द्रदेव तृतीयको पालामा आएर मत्स्येन्दनाथको जात्रा चलेको भनेर कथन बनाइयो । तर राजा नरेन्द्रदेवको नाम मात्र मिलाएर पनि हुनेहोइन । राजा गुणकामदेवको पालामा भोटो देखाउने जात्रा शुरु भयो भन्ने कथन पनि छ ।
दोस्रो नरेन्द्रदेव झण्डै एक डेढ वर्ष मात्र राजा भएको देखिन्छ भने तेस्रो नरेन्द्रदेवले ५ वर्ष करिव राजा हुन पाएको कुरा त्यसवेलाको इतिहासको राज्यकालक्रमले देखाउंछ । दोस्रो र तेस्रो नरेन्द्रदेव भन्दा राजा गुणकामदेव अगाडिका हुन् । यी तथ्यगत आधारले १२ वर्ष सम्म अनावृष्टि भएको घटना र मछिन्द्रनाथको जात्रा शुरु हुनु भन्दा अघि भोटो देखाउने जात्रा शुरुभएको जस्तो अविश्वसनीय कथनलाई जवरजस्ति पत्याउनु पर्ने हुनआउंछ । वास्तवमा त्यसो संभव छैन ।
त्यसकारण प्रथम नरेन्द्रदेव कै पालामा मछिन्द्रनाथको जात्रा चलेको हो । पछि गुणकामदेवको पालामा भोटो देखाउने प्रचलन थप हुन आएको हो ।
राजा जयस्थिति मल्लको पाला सम्म मछिन्द्रनाथकोजात्रा शरद ऋतु(आश्विन)मा हुने गर्दथ्यो । यिनकै पालामा नेसं ५०७ देखि शरद ऋतुको सट्टा वसन्त ऋुतुमा गर्ने चलन गरियो । त्यतिमात्र होइन वर्षेनि यो जात्रा वुंगमतिदेखि रथ तानेर पाटन शहर ल्याउनुपर्ने थियो ।
यसले जात्रा चलाउनेहरुलाई गाह्रोभएकोले उनले १२ वर्षको एक चोटी वुंगमती देखि रथ तानेर जात्रा गर्ने अरु ११ वर्ष सम्म मछिन्द्रनाथ खटमा राखेर ल्याइ रथमा चढाइने चलन चलाए । राजा श्री निवास मल्लको पालामा सूर्य दक्षिणायन भरि वुंगमतीमा राखिने र उत्तरायण भरि पाटनको तवहालमा राख्ने गरियो । राजा श्रीनिवासमल्ल बुंगमलोकेश्वरको परम भक्त भएकोले स्नानपर्व र रथयात्रा पर्व चलाउन प्रशस्त जग्गाहरु राखी गुठी व्यवस्था गरिदिएका कुरा तत्कालीन अभिलेखले बताउंछ । यिनले पाटन तःवहालमा भव्य मन्दिर समेत बनाइ दिए भन्ने कुरा अवलोकितश्वर स्तवमा मा पनि उल्लेख छ ।
जात्राको विवरण
राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापु ले शुरु गरेको रातो मछिन्द्रनाथको रथयात्रा संगै मीननाथको रथ समेत यात्रा गरिन्छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन मछिन्द्रनाथलाई पुलचोकमा रथारोहण गराइ सकेपछि जात्रा शुरु हुन्छ । पहिलो दिन गावहाल पु¥याउने चलन छ । दोस्रो दिन सुनधारा पु¥याउने र तेस्रोदिन लगनखेल पु¥याइ माजुसिमा खरिकोबोटलाई एक फन्को घुमाइन्छ ।
त्यसको भोलिपल्ट भूतवलि दिइ भूतपन्छाइने गरिन्छ । त्यसको भोलि पल्ट फेरि माजुसिमालाई दुइ फन्को घुमाइ विश्राम लिइन्छ । त्यसको भोलिपल्ट नरिवल खसाल्ने जात्रा गरि रथलाई थतिटोल पु¥याए पछि शहर भित्रको रथयात्रा समाप्त हुन्छ । यो जात्रा समाप्त भइसके पछि पाटन मंगलवजारको सोह्रखुट्टे पाटीमा तीन टोलको प्रमुख ज्योतिषीहरु बसी राम्रो शुभ साइत हेरी जावलाखेल लाने साइत हेरिन्छ ।
रथ जावलाखेल पुगेको चार दिनमा भोटो देखाउने जात्रा समापन हुन्छ । जात्रा समापन हुना साथ मछिन्द्रनाथलाई खटमा राखी वुंगमती पु¥याइन्छ । बाह्रवर्षको जात्रामा रथ बुंगमती मै तयार गराइ रथारोहण गरी त्यहाँदेखि तानेर ल्याइ भैंसेपाटीको ग्वाखंचा भन्ने स्थानसम्म ल्याइन्छ । भोलिपल्ट नखु खोला तारि त्यागल सम्म ल्याइ पु¥याइन्छ । त्यागल देखि पुलचोक ल्याइ पु¥याइ सके पछि हरेक वर्ष गरिने जात्राको क्रमजस्तै बाँकी जात्रा कायम हुन्छ । अन्तमा जावलाखेलमा भोटो देखाइ सकेपछि पुनः रथ बुंगमती सम्म लाने गरिन्छ र वुंगमती पुगेको चौथोदिनमा फेरि वुंगमती मै भोटो देखाउने गरिए पछि जात्रा समापन हुन्छ ।
उपसंहार
वर्षा र सहकालका देवता मछिन्द्रनाथ, करुणामय, आर्यावलोकितेश्वरको रथयात्रा गर्दा बालक वृद्ध देखि युवायुवती स्त्रीपुरुष बडो हर्षोल्लासका साथ सरिक हुने हुंदा यो जात्राको विशेषता र महत्व अन्य जात्राभन्दा फरक छ । मछिन्द्रनाथको उत्पत्ति यसको प्रख्याति र जात्रा प्रचलनको बारेमा भ्रमोत्पादक कथनले किंकर्तव्य विमूढको अवस्थाल्याइ पु¥याएको महसूस भएको छ । जसले गर्दा जे यथार्थ ऐतिहासिक विवरणमा हुनुपर्ने थियो त्यसो नभइ अपत्यारिला ऐतिहासिकता थोपर्दै आएको मात्र देखापर्ने भएकोले यथार्थ बुझ्न सहज होस् भनी गरिएको यो सानो प्रयास स्वरुपको योलेख हो ।
वुंगमतीमा पहिले देखि विराजमान भइ रहेका लोकेश्वरको जात्राले शहरमा प्रत्येकको घरघरमा वस्तिवस्तिमा भगवान करुणामय लोकेश्वरको दृष्टि पुगोस् भनी चलाएको जात्राको अभिप्राय हो । यसरी अगावै विद्यमान भएको लोकेश्वर मत्स्येन्दनाथलाई कामारुकामाक्ष पीठ गएर लिन जानुपर्ने कथन अति अमिल्दो खालको छ । राजा नरेन्द्रदेवको समयका तात्कालिक तान्त्रिक वन्धुदत्त आचार्य को हुन् भन्ने विषयमा समेत अन्यौल हुन नपरोस् भन्ने नै यो लेखको मूल आसय हो ।
यो लेख लेख्दा सहयोग लिइएका पुस्तक तथा लेखको सूची
१. गोपालराज वंशावली -धनवज्र वज्राचार्य
२ लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य
३ देवमाला वंशावली - योगी नरहरिनाथ
४. भाषा वंशावली -नयनाथ पौडेल
५. नेपालको साँस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन - लीलाभक्त मुनंकर्मी
६. राष्ट्रिय अभिलेखालयको अभिलेख २०४० -अंक १ )- रातो मत्स्येन्द्रनाथको उत्पत्ति
७. श्री मत्स्येन्द्रनाथ -कूलचन्द्र कोइराला
८. मछिन्द्रनाथको कथा -चक्रपाणी चालिसे
९. रातो मत्स्येन्द्रनाथ - बुद्धाचार्य शाक्य
१०. हिमालिनी (त्रैमासिक हिन्दी पत्रिका १९९९वर्ष२अंक ३ -मत्स्येन्दनाथको यात्रा
११. त्रिदेव स्वरुप ब्राम्हण, कर्माचार्य,जोशी -हरिराम जोशी
१२. नेपालका जात्रापर्व - सत्यमोहन जोशी
१३. नेपालका चाडपर्व -हरिराम जोशी
१४. हाम्रा चाडपर्वहरुका विवेचना - मनवज्र वज्राचार्य
१५. (रोलम्व अंक १८ -२०५४) -ललितपुरका अरु दुई
प्राचीन अभिलेखहरु
१६. श्री संकटा १२ वर्षे मेला २०६० स्मारिका - पूर्णरत्न वज्राचार्य
१७. लिच्छवि इतिहास - डा.जगदीशचन्द्र रेग्मी
१८. नेपालको धार्मिक इतिहास - डा. जगदीशचन्द्र रेग्मी
१९. मच्छेन्द्रनाथ सम्वन्धी कथ्य र तथ्य -भुवनलाल प्रधान –
मधुपर्क मा प्रकाशित)
२०. इतिहास बाँचिरहन्छ -राममान प्रधान
नेपाल भाषामा
१. बुंगद्योया बाखं -ज्योतिरत्न शाक्य
२. श्री करुणामय बुड्डमलोकेश्वरया साँस्कृतिक पृष्ठभूमि - हेमराज शाक्य
३. प्रसिद्ध वज्राचार्य पिनिगु संक्षिप्त विवरण - बद्रीरत्न वज्राचार्य
प्रतिक्रिया