काठमाडौं । ‘पहिले दर्शकहरु चलचित्र निर्माता निर्देशकलाई फ्रि मा गाली गर्थे, अहिले पैसा तिरेर गाली गर्छन्,’ नेपाली चलचित्रमा आएको परिवर्तनबारे एकजना निर्देशकको टिप्पणी हो यो । नेपाली चलचित्र भन्ने बित्तिकै नाक खुम्च्याउनेहरु केही महिनादेखि भने नेपाली चलचित्रबारे बोल्न थालेका छन् । नकरात्मक नै सही बौद्धिक लेभलमा पनि नेपाली चलचित्रबारे कुरा, बहस र चर्चा हुन थालेको छ । यो सबैलाई थाहा भएकै कुरा हो चलचित्र हेर्नका लागी दर्शक चाहिन्छ तर दर्शक कहाँबाट ल्याउने । यतीबेला नेपाली चलचित्र लगातार प्रदर्शन भएपनि दर्शक भने हलसम्म तानिन सकेका छैनन् ।
बरिष्ठ चलचित्रकर्मी यादव खरेल पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रहरुमा अझैपनि त्यस्तो परिवर्तन नआएको बताउँछन् । उनी भन्छन्, ‘अहिले पनि चलचित्रलाई आफनो लगानी उठाउन हम्मे हम्मे छ ।’ यहाँ खाली नयाँलाई आकर्षित गर्न मात्र चलचित्र बनाइन्छ जसले कुनै कुराबाट पनि फाइदा दिँदैन । चलचित्रमा नयाँ अनुहार आउनु राम्रो कुरा हो तर त्यसले आर्थिक हिसाबले पनि राम्रो गर्नुपर्ने हुन्छ ।
नेपाली चलचित्रमा नेपालीपन भित्र्याएर ‘लुट’ सफल भएको हो भन्ने एक तप्काको मनोकांक्षा पूरा गरेर ‘चपली हाइट’ ले हाइट लिएको थियो । यी दुवै चलचित्रमा खासै केही नभएपनि यसमा कथावाचनको मौलिक परिवर्तन थियो, जसले मनोरञ्जन पनि दिन्थ्यो । तर अहिले आएर नेपाली चलचित्र पुरानै ढर्रामा फर्किन थालेको छ । अहिले चलचित्रको बजार एकदमै दयनीय भएको बताउँछन्, निर्देशक तथा निर्माता दिपेन्द्र के खनाल । चपली हाइट बनाएर हाइट कमाएका निर्देशक खनाल भन्छन्, यो वर्ष आशा गरिएको चलचित्रहरु पनि खासै चलेनन् । ‘चलचित्र त बने तर सबै एकै धारका, कुनैमा नयाँपन देखिएन, खनालले भने ।’
सत्यजित रे ले भनेका छन्, ‘चलचित्र समाजको ऐना हो । यसमा समाजका उज्याला चेहराहरु मात्र होइन, घुर्मैला अनुहारहरु पनि देखिनुपर्छ । एउटा अघाएको मान्छेको अट्टाहास हाँसो मात्र होइन, एउटा भोको मान्छेको एक चिम्टी खुशी पनि मिसिनुपर्छ । यसमा देखिने घुर्मैला अनुहार र भोका मान्छेका लागि अलिकति सन्देश तथा उज्याला चेहरा र अघाएका मान्छेका लागि अलिकति मनोरञ्जन, यही नै हाम्रो चलचित्र हुनुपर्छ ।’ नेपालका अधिकांश चलचिकर्मीले विश्व चलचित्र इतिहासको वर्णमालाको अग्रभागमा रहेका यी व्यक्तित्व र उनको भनाइसँग अझै पनि परिचित छैनन् ।
घामपानी, गोपी र छ माया छपक्कै र अहिले दुई नम्बरी निर्देशन गरिरहेका निर्देशक दिपेन्द्र लामा पनि अहिले चलचित्रको अवस्थाले खासै खुशी देखिदैनन् । उनी भन्छन्, अहिले चलचित्रको बजार एकदमै घटेको छ । ‘चलचित्रमा आखाँ चिम्लेर बिश्वास गर्ने ठाउँ छैन ।’ दर्शकहरु अझै पनि बलिउड र हलिउड भन्दै हिड्छन् तर नेपाली चलचित्रलाई अझ पनि बिश्वास गर्दैनन् ।
चलचित्र सम्बन्धि अध्ययन पनि गरेका केही पछिल्लो पुस्ताका निर्देशकहरुले नेपाली फिल्म निर्माणको परम्परागत शैलीलाई परिवर्तन गर्न खोजेका छन् । तर, त्यो शैली पनि निश्चित वर्ग लक्षित भएको आरोप लाग्दै आएको छ ।
नेपाली चलचित्रकर्मीहरुले फरकधार र मूलधार भनेर लविङ गर्न थालेपनि अन्ततः दुवै ‘धार’ भुत्ते देखिएका छन् । काठमाडौंमा अहिले बिभिन्न नयाँ हलहरु सञ्चालनमा आएका छन् तर त्यसमा दर्शक छैनन् । दर्शक नहुनुका कारण धेरै चलचित्रकर्मीहरुको गुनासा यो पनि छन् कि हलहरुले नेपाली चलचित्रलाई ठाउँ नै दिँदैन । नेपाली चलचित्रले राम्रो हल नै पाउँदैन । यसले पनि नेपाली चलचित्रमा दर्शकको कमी भएकोृ चलचित्रकर्मीहरुका गुनासा थिए । तर कमलदीस्थीत क्युज सिनेमाजका प्रबन्ध निर्देशक राकेश श्रेष्ठ यी सबै आरोप गलत भएको बताउँछन् । उनी भन्छन्, चलचित्रको डिमाण्ड अनुसार हामीले हलमा चलचित्र चलाउने हो । अब कथा केही हुँदैन अनि दर्शक नै एक दुईजना आएपछि हामीले कसरी चलचित्र चलाउने, उनको भनाई थियो । अहिले नेपाली चलचित्रको बजार खासै छैन । हलवालाले चलचित्र चलाएन भनेर गुनासो गर्नु भन्दा पनि राम्रो कथा र दमदार बिषय लिएर चलचित्र बनाउनेतिर लाग्दा दुबैलाई फाइदा हुने, श्रेष्ठले बताए ।
नेपाली सिनेमाका खाँटी दर्शक रहेका गाउँ र साना सहरका युवा जमात रोजगारीका लागि विदेश जानुले लक्षित दर्शक घट्न पुग्छन् । जसका कारण अपेक्षित लगानी उठ्न गाह्रो हुन्छ । यहाँका अधिकांश निर्माताहरू हिन्दी चलचित्रको प्रभावबाट बाहिर निस्कन सकेका छैनन् । नेपाली समाज, यहाँको बदलिँदो सोच अनुरुप अर्गानिक विषयवस्तु दिनुपर्नेमा उनीहरू चुकिरहेका छन्, जसले गर्दा आरोप लाग्ने गरेको छ— नेपाली चलचित्र त हिन्दीबाटै कपी गरिएको रहेछ ।
यहाँका जनतामा विभिन्न राजनीतिक परिवर्तन या प्राकृतिक संकट आईहालेपनि त्यसबाट चाँडै सामान्यीकरण हुने बानी परेको छ । तिनलाई मन भुलाउन साहित्य, संगीतसँगसँगै चलचित्र उपयुक्त विकल्प हो । उनीहरू कस्ता कथावस्तु वा विषय–सन्दर्भ बोकेको चलचित्र हेर्न उत्सुक छन् भनेर अनुसन्धान गरिनुपर्छ । बजार र दर्शक रुचीको अनुसन्धान हुन नसक्दा निर्माण भएका अधिकांश चलचित्र फ्लप भईरहेका छन् ।
अहिले पनि कतिपय निर्मातामा चलचित्र ग्ल्यामरमा लोभिएर आउने एकखालको रोग लागेको छ । कतिलाई भने निर्देशकले आर्थिक फाइदाको लोभ देखाएर फसाउने गरेका छन् । भारतीय र हिन्दी चलचित्र हेर्ने ठूलो संख्याका दर्शकलाई हलसम्म तान्न नसक्नुले पनि व्यापार प्रभावित भएको छ । पेसागत र व्यावसायिक रुपमा लगानी गर्नेहरु नआएकाले पनि चलचित्र क्षेत्र फस्टाउन सकेको छैन । कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली सिनेमा ओरालो लागेको छ । बदलिँदो समाजको परिवेशलाई मौलिक रुपमा उतार्नका लागि जति कथावस्तु र प्रस्तुतिले पेल्नुर्पथ्यो, त्यो भइरहेको छैन ।
उही पुरानै घिसीपिटी कथा या त हिन्दी चलचित्रको कपीले आक्रान्त छ, हाम्रो नेपाली चलचित्र । यसो हुनुको कारण या त निर्देशकले चलचित्र बनाउनै नजानेका हुन्, या आफ्नो नाम बिकाउनका लागि मात्र चलचित्र बनाएका हुन् । चलचित्र चलोस् नचलोस् तर चलचित्र बनाउन एकदमै तमतयार हुन्छन्, हाम्रा निर्माता/निर्देशकहरु । चलचित्रमा दर्शकलाई कस्तो कथा दिँदा हुन्छ र कस्तो खाले चलचित्र बनाउँदा दर्शक तान्न सकिन्छ भन्ने कुरालाई अहिले निर्देशकहरुले बिर्संदै गएका छन् ।
प्रतिक्रिया